काठमाडौं । देशभर बीमालेख नविकरण नगर्ने दर निरन्तर बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणको ताजा तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्म ३४ अर्ब रुपैयाँभन्दा बढी रकम बराबरका १२ लाखभन्दा बढी बीमालेख नविकरण हुन सकेका छैनन् ।
प्राधिकरणका अनुसार भदौ मसान्तसम्म कुल ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ बराबरका बीमालेख ‘व्यतित’ भएका छन्, जुन गत वर्षको सोही अवधिको ३४ अर्ब ६७ करोड ६९ लाख रुपैयाँ भन्दा ५ प्रतिशतले बढी हो । नविकरण नभएका बीमालेखको संख्या पनि १२ लाख १३ हजार ५६२ पुगेको छ, जसमा २.७९ प्रतिशत वृद्धि भएको छ ।
हाल देशभर १४ ठूला र ३ लघु जीवन बीमा कम्पनीहरू सञ्चालनमा छन् । ती कम्पनीमार्फत जारी गरिएका बीमालेखहरूमध्ये समयमै प्रिमियम नतिरेर व्यतित हुने दर तीव्ररूपमा बढेको प्राधिकरणले जनाएको छ ।
बीमा विज्ञहरूका अनुसार अभिकर्ताहरूको असक्रियता, ग्राहकसँग नियमित सम्पर्कको अभाव, आर्थिक कठिनाइ र बीमा सरेन्डरसम्बन्धी जानकारी नहुँदा नविकरण दर घट्दै गएको हो । कतिपय बीमितहरू आर्थिक दबाबका कारण समयमा प्रिमियम बुझाउन नसक्ने र कतिपयले बीमा सरेन्डर प्रक्रिया नै नबुझ्ने कारणले पनि बीमालेख निष्क्रिय भइरहेका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार साउन र भदौ महिनामा मात्र २ अर्ब ५० करोड ७ लाख रुपैयाँ बराबरका बीमालेख सरेन्डर भएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ९.१८ प्रतिशत कम हो । गत वर्ष यस अवधिसम्म २ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ बराबरका १९ हजार ७४१ बीमालेख सरेन्डर भएका थिए भने यस वर्ष उक्त संख्या घटेर १५ हजार ८९८ पुगेको छ ।
जीवन बीमाका अधिकांश योजना ५ देखि १५ वर्ष अवधिका हुने भएकाले बीमितले हरेक वर्ष प्रिमियम बुझाउनुपर्ने हुन्छ । समयमै शुल्क नतिर्दा बीमालेख स्वतः व्यतित भई बीमा सुरक्षाको सुविधा समाप्त हुन्छ । तर, बीमालेख व्यतित भए पनि बक्यौता रकम तिरेर पुनः नविकरण गर्ने वा तीन वर्षपछि सरेन्डर गरी केही रकम फिर्ता लिने व्यवस्था भने रहँदै आएको छ ।
प्राधिकरणले बीमा कम्पनीहरू र अभिकर्ताहरूलाई ग्राहकसँग निरन्तर सम्पर्कमा रहन र जानकारी प्रवाहमा सक्रिय हुन निर्देशन दिएको भए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन कमजोर रहेको जनाएको छ ।
