सिक्किम उच्च अदालतले हराइरहेका नेपाली अक्षर पुनर्स्थापित गर्ने आदेश

  • Clock icon
    २०८२ कार्तिक ७, शुक्रबार

भारतको सिक्किम उच्च अदालतले नेपाली वर्णमालाबाट हराइरहेका केही अक्षरहरू पुनर्स्थापित गरी प्रयोग अनिवार्य गर्ने आदेश दिएको छ। यसमा ण, श, ष, ड, ढ, क्ष, त्र, ज्ञ, ऋ लगायतका अक्षरहरू समावेश छन्।

पहिले नेपाली वर्णमालामा क, ख, ग पढाउने बेलामा यी अक्षरहरू पढाउने र लेखाउने गरिन्थ्यो। तर आधुनिक समयसँगै ‘ण’लाई ‘न’, ‘श’को सट्टा ‘स’, ऋलाई ‘रि’ लेखिने चलन सुरु भएको थियो। यसले विद्यालय, विश्वविद्यालय, पत्रिका, साहित्यिक किताबहरूमा अक्षरहरूको प्रयोग घटाउँदै आएको थियो, जसले शिक्षक र अभिभावकहरूमा भाषिक द्विविधा सिर्जना गरेको थियो।

सिक्किम निवासी अवकाशप्राप्त नेपाली शिक्षक तथा साहित्यकार धनराज गुरुङले ७ अगस्त २०२५ मा सिक्किम उच्च अदालतमा सिक्किम विश्वविद्यालय, भारतको शिक्षा विभाग र राज्य सरकारलाई विपक्षी बनाई रिट दायर गरेका थिए। गुरुङले अक्षरहरू हटाइँदा भाषिक शुद्धता र पहिचानमा असर पर्ने भएकाले प्रयोग अनिवार्य गर्न माग गरेका थिए।

मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दार र न्यायाधीश मिनाक्षी मदन राईको संयुक्त इजलासले रिटको सुनुवाइ गर्दै हराइरहेका अक्षरहरू मौलिक पहिचानसहित फर्काउन र प्रयोग अनिवार्य गर्न आदेश दिएको छ। अदालतले भनेको छ –

“नेपाली भाषा केवल संवादको माध्यम होइन, पहिचान र संस्कृतिको आधार पनि हो। त्यसैले लेख्न र पढ्न छाडिएका अक्षरहरू तुरुन्त प्रयोगमा ल्याउनुपर्नेछ।”

अदालतको आदेश कार्यान्वयनका लागि नेपाली भाषाविज्ञ सहितको ६ सदस्यीय समिति गठन गरिएको छ। समितिमा

  • शुक्र सुब्बा, सिक्किम एकाडेमी अध्यक्ष

  • चन्द्रप्रकाश शर्मा, नेपाली लोक साहित्य लेखक

  • शंकरदेव प्रसाद ढकाल, साहित्य एकाडेमी, नयाँदिल्ली

  • टेकबहादुर क्षेत्री, एनबीबी डिग्री कलेज, एसिस्टेन्ट प्रोफेसर

  • युवा बराल, साहित्य एकाडेमी अवार्ड विजेता लेखक

  • प्रो. डा. कविता लामा, सिक्किम विश्वविद्यालय, नेपाली भाषा विभाग प्रमुख

लाई समावेश गरिएको छ। समितिलाई शिक्षण संस्थामा आदेश कार्यान्वयन गराउने जिम्मेवारी दिइएको छ। साथै कुनै संस्था वा लेखकले आदेश बेवास्ता गरेमा उनीहरूको किताब शिक्षण संस्थामा स्वीकार नहुने व्यवस्था गरिएको छ।

उच्च अदालतले लेखनमा सानो त्रुटि पनि नेपाली भाषाको शुद्धतामा असर पुर्‍याउने भएकाले नयाँ पिँढीका लागि आदेशको सही कार्यान्वयन आवश्यक रहेको जनाएको छ।

यो आदेशप्रति प्रतिक्रियाहरू मिश्रित छन् – कतिपयले यसलाई सिक्किम मात्र होइन, सबै नेपाली भाषीको जीत ठानेका छन् भने कतिपयले आधुनिक नेपाली भाषा पढ्ने अधिकारबाट बन्चित गरिएको भन्दै विरोध गरेका छन्।

  • Clock icon
    २०८२ कार्तिक ७, शुक्रबार