भारतीय चलचित्र तथा टेलिभिजनका लोकप्रिय अभिनेता सतीश शाहको ७४ वर्षको उमेरमा निधन भएको छ।
मुम्बईस्थित हिन्दुजा अस्पतालमा शनिबार दिउँसो करिब २स्३० बजे उनको निधन भएको हो। उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए।
उनका म्यानेजरका अनुसार शाहको पार्थिव शरीर अस्पतालमै राखिएको छ र अन्तिम संस्कार आइतबार गरिनेछ। हालै मात्र उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो।
सतीश शाह टेलिभिजन शो ‘साराभाई भर्सेज साराभाई’ र ‘जाने भी दो यारो’ जस्ता कार्यक्रमबाट अत्यधिक लोकप्रिय भएका थिए।
उनले ‘मै हुँ ना’ (२००४), ‘कल हो ना हो’ (२००३), ‘फना’ (२००६) र ‘ओम शान्ति ओम’ (२००७) जस्ता सयौँ सफल चलचित्रहरूमा आफ्नो अभिनयको छाप छोडेका छन्।
सन् २००८ मा उनले अर्चना पूरन सिंहसँग कमेडी शो ‘कमेडी सर्कस’ मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए।
शाहको निधनमा भारतीय कला क्षेत्रले गहिरो दुःख व्यक्त गरेको छ। चलचित्र निर्माता विवेक शर्माले शनिबार बिहान मात्रै शाहसँग कुराकानी भएको बताए।
शर्माका अनुसार शाहले आफ्नो एउटा सेल्फी पठाउँदै भनेका थिए, ‘हेर, मैले २०(२२ किलो तौल घटाएँ, अब कति ह्यान्डसम देखिएको छु।’
शाहले नोभेम्बरदेखि काममा फर्किने योजना बनाएको पनि शर्माले स्मरण गरे।
सतीश शाहको जन्म गुजरातको माण्डवीमा भएको थियो। उनले जेभियर कलेज र पुणेस्थित फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट अध्ययन पूरा गरेका थिए। सन् १९७२ मा उनले डिजाइनर मधु शाहसँग विवाह गरेका थिए।
सन् १९७० मा ‘भगवान परशुराम’ बाट आफ्नो फिल्मी करियर सुरु गरेका शाहले सन् १९८४ मा टेलिभिजन शो ‘ये जो है जिन्दगी’ बाट टेलिभिजनमा डेब्यु गरेका थिए।
उक्त शोको ५५ एपिसोडमा उनले ५५ वटै फरक-फरक भूमिका निर्वाह गरेर आफ्नो अभिनय क्षमता प्रदर्शन गरेका थिए।
