चुनौतीबिच महाधिवेशन तयारीमा एमाले

एमाले केन्द्रीय कमिटीले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। महाधिवेशन आउन डेढ महिना बाँकी छ। एमालेका नेता–कार्यकताले उत्साहपूर्वक महाधिवेशनको वातावरण तयार पार्न सकिरहेका छैनन्। तिहारलगत्तै सचिवालय बैठक बसेर ११औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको विधि र मापदण्ड निर्धारण गर्ने तयारी छ।

महाधिवेशनका लागि एमालेसामु थुप्रै चुनौती देखिएका छन्।

आन्तरिक लोकतन्त्र कमजोर भएको आरोप खेपिरहेको एमालेमा पुरानै नेतृत्व दोहोरिने कि नयाँ नेतृत्व चयन हुने भन्ने स्पष्ट छैन।

भदौ २० देखि २२ सम्म सम्पन्न विधान महाधिवेशनले वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई नै अर्को एक कार्यकालका लागि अध्यक्ष बन्ने बाटो खोलिदिएको छ। विधान महाधिवेशनको हलबाट बाहिर आउँदै गर्दा मुलुकको राजनीतिले एमालेमा मात्र होइन, अन्य दलहरूलाई पनि नेतृत्व फेरबदलमा ठुलो चुनौती खडा गरिदिएको छ।

एमाले अध्यक्ष ओलीले जसरी पनि आफैं अध्यक्ष हुनुपर्ने गरी माहोल सिर्जना गरे पनि मुलुकको समग्र राजनीतिक अवस्थाले परिवर्तनको अपेक्षा गरेको छ। उक्त विषय गएको केन्द्रीय कमिटीको बैठकमा पनि उठेको थियो।

अधिकांश केन्द्रीय सदस्यले आगामी नेतृत्व विषय महाधिवेशनबाट टुंगो लगाउनुपर्ने बताएका थिए।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमा प्रतिनिधि छनोटको मापदण्ड र विधि अब बस्ने सचिवालय बैठकले टुंगो लगाउने बताए।

‘संगठन विभागले त्यसको खाका ल्याउँछ। सचिवालय बैठकले मापदण्ड तय गर्छ,’ उनले भने।