वित्तीय प्रणालीमा बढ्दो तरलताको चाप नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज फेरि ९० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले यो रकम निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत ४२ दिनका लागि तान्ने तयारी गरेको हो।
राष्ट्र बैंकका अनुसार अनलाइन बिडिङ प्रणालीमार्फत दिउँसो ३ बजे बोलकबोल (bidding) प्रक्रिया सञ्चालन हुनेछ र सोही दिन निक्षेप संकलन खरिद गरिनेछ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडका गुणाङ्कमा आवेदन दिन सक्नेछन्। निक्षेपको परिपक्वता मिति मंसिर २१ गते तय गरिएको छ, जसअन्तर्गत सावाँ तथा ब्याज भुक्तानी हुनेछ।
निक्षेप संकलनमा सहभागी हुन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र अनुमति दिइएको छ। राष्ट्र बैंकले निक्षेप संकलन बहुब्याजदर प्रणालीमा गर्न सकिने जनाएको छ।
हाल बजारमा तरलता अत्यधिक रहेको र यसले स्वल्पकालीन ब्याजदर घटाउने असर देखिएपछि केन्द्रीय बैंकले पुनः निक्षेप संकलनमार्फत रकम तानेको हो। यो कदमले तरलता सन्तुलन र मौद्रिक स्थायित्व कायम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
