पाथीभरा मन्दिरमा दर्शनार्थीको भिड, एकै दिन ६ हजार बढी पुग्दा रेकर्ड

कोशी क्षेत्रको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा शनिबार ठूलो संख्यामा भक्तजनको भीड देखिएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो सिजनमा यसरी ठूलो संख्या भक्तजनको उपस्थिती पहिलो हो।

सो दिन ६,३९३ जना भक्तजनले मन्दिरमा दर्शन गरेका थिए। भक्तजनहरूले बिहान ३ बजेदेखि दिउँसो ३ बजे सम्म लामबद्ध भएर पूजा आराधना गरेका थिए।

भक्तजनहरू वर्षभर पाथीभरा दर्शनमा आउने गर्छन्, तर दशैं–तिहार पर्वको समयमा संख्या विशेष रूपमा बढ्ने गरेको छ। समितिका अनुसार असोज महिनाभरि २९,१७४ जना भक्तजन मन्दिरमा दर्शनका लागि आइसकेका छन्।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बिहानैदेखि ठूलो संख्यामा भक्तजन मन्दिर पुगेको जानकारी साझा गरे। भक्तजनहरूको ठूलो उपस्थितिले पाथीभरा मन्दिरको धार्मिक महत्त्व र सांस्कृतिक आकर्षण झल्काएको बताइएको छ।