मन्त्री बनाउने सूचीमा परेर पनि आइतबार दिउँसो शपथ खाने बेला रोकिएका गणपतिलाल श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँग भएको सहमतिविपरीत मन्त्रालय परिवर्तन गरिएका कारण आफू पछि हटेको दाबी गरेका छन्।
सुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने भनिएका श्रेष्ठलाई आइतबार राष्ट्रपतिको कार्यालयमा सूची पठाउने बेला भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने गरी पठाइएको थियो। जसले गर्दा उनको शपथ भएन।
यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री पदमा नियुक्तिका लागि सिफारिस भएका खगेन्द्र सुनार पनि विभिन्न मुद्दामा मुछिएको कुरा सार्वजनिक भएपछि शपथका बेला सूचीबाट हटाइए।
जसका कारण सुरुमा चार मन्त्री नियुक्ति गर्ने भनिएकामा आइतबार डा सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रीले मात्र पद तथा गोपनीयताको शपथ खाए।
यसपछि गणपतिलालले गुनासो गर्दै विज्ञप्ति जारी गरेका हुन्।
जसमा उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलाय परिवर्तन गरी भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएपछि अस्वीकार गरेको दाबी गरेका छन्।
आफू मन्त्री बन्न खासै लालायित नरहेको तर प्रधानमन्त्री कार्कीले नै प्रस्ताव गरेपछि आफ्नो विज्ञताका आधारमा पर्यटनमन्त्री बन्ने सहमति भएकामा पछि एकाएक परिवर्तन गरिएको उनले उल्लेख गरेका छन्।
मन्त्रालय परिवर्तन गरिएपछि गृहमन्त्री ओमप्रकाश अर्यालले आफूलाई फोन गरी ‘तपाईंविरुद्ध ठूलै शक्ति लागेको’ भनेको दाबी श्रेष्ठले गरेका छन्।
उनकै सुझावअनुसार आइतबार आफूले प्रधानमन्त्री कार्कीलाई भेटेर किन मन्त्रालय परिवर्तन गरिएको भनेर सोध्दा प्रस्ट कारण नबताएको श्रेष्ठको भनाइ छ।
त्यसैले मन्त्री बनाउने समुह अर्को कुनै रहेको शंका समेत छ ।
उहाँले मैले अरूलाई वचन दिइसकेको जानकारी गराउनुभयो र मैले हिजो (शनिबार) बेलुका मलाई दिनुभएको वचनचैँ के भनी प्रश्न गर्दा उहाँले कुनै जवाफ नदिई अर्कोतिर हेर्नुभयो।’ श्रेष्ठले विज्ञप्तिमा लेखेका छन् ।
