काठमाडौं । उपत्यका प्रहरीले जेनेरेसन–जेड आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता गर्न ‘स्वीप अपरेसन’ सञ्चालन गरेको छ । आइतबारदेखि सुरु गरिएको यो अपरेसन सुरक्षा–संवेदनशील मानिँदै योजनाबद्ध रूपमा अगाडि बढाइएको हो ।
उपत्यका प्रहरी प्रमुख एआइजी दानबहादुर कार्कीका अनुसार, अपरेसनको उद्देश्य लुटिएका हतियार, सामग्री फिर्ता ल्याउने र संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने रहेको छ ।
आइतबार काठमाडौंका विभिन्न स्थानमा तलासी कार्य गरिएको थियो । सो क्रममा सुबिधानगरस्थित सम्पदा ब्वाइज होस्टल (ब्लक ‘बी’) र प्रयाग मार्गस्थित ब्लक ‘ए’ मा प्रहरीले छापा मारेको थियो ।
ब्लक ‘ए’ को स्टोरबाट प्रहरीले दुई थान ह्यान्डकफ, एक थान सशस्त्र प्रहरी (एपीएफ) बडी प्रोटेक्टर र लाठी, एक थान प्रहरीको बञ्चरो र एक थान हार्ड डिस्क बरामद गरेको एआइजी कार्कीले जानकारी दिए ।
सोही घटनामा संलग्न रहेको आरोपमा जनकपुर उपमहानगरपालिका–७, धनुषाका २४ वर्षीय गोविन्दकुमार ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठाकुर उक्त होस्टलको वार्डेन रहेका थिए ।
ललितपुरमा पनि प्रहरीले फेला पारेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार, महालक्ष्मी नगरपालिका–५ टिकाथलीको मोतीचोकमा एउटा चिनियाँ ह्यान्डकफ फेला परेको हो, जसलाई स्थानीय प्रहरी चौकीमा बुझाइएको छ ।
त्यसअघि आइतबार दिउँसो टिकाथलीस्थित हनुमन्ते खोलाको किनारबाट प्रहरीले एउटा चिनियाँ पेस्तोल, म्यागजिन र तीन राउन्ड गोली बरामद गरेको थियो ।
जेनेरेसन–जेड आन्दोलनको दोस्रो दिन उपत्यकाका विभिन्न प्रहरी युनिटबाट ठूलो परिमाणमा साना तथा ठूला हतियार र गोलीबारुद लुटिएको रिपोर्ट आएको थियो ।
गृहमन्त्रालयले यसअघि असोज मध्यसम्म लुटिएका हतियार फिर्ता गर्न समयसीमा दिएको थियो । सो समयसीमा सकिएपछि मन्त्रालयले देशभर विशेष अपरेसन सञ्चालन गर्न प्रहरीलाई निर्देशन दिएको हो ।
