भटमास तेलमा व्यापारिक उछाल, निर्यात ३२ गुणा बढ्यो

  • Clock icon
    २०८२ कार्तिक १०, सोमबार

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमास तेल (सोयाबिन आयल) शीर्ष स्थानमा पुगेको छ । देशमा उत्पादन नहुने भटमास तेल आयात गरेर प्रशोधन र प्याकेजिङ गरी भारतलगायत मुलुकहरूमा पुनः निर्यात गर्ने प्रवृत्तिका कारण यो वस्तु आयात–निर्यात दुवैतर्फ अग्रस्थानमा रहँदै आएको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो तीन महिनामा नेपालले ३० अर्ब २४ करोड ८७ लाख रुपैयाँ बराबरको क्रुड सोयाबिन आयल (कच्चा भटमास तेल) आयात गरेको छ । सोही अवधिमा ३० अर्ब ६९ करोड ७८ लाख रुपैयाँ बराबरको प्रशोधित भटमास तेल निर्यात भएको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ को पहिलो तीन महिनामा भने ५ अर्ब ३४ करोड ७७ लाख रुपैयाँ बराबरको भटमास तेल आयात र ९४ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो । त्यसको तुलनामा चालु वर्ष आयात करिब ४.६ गुणा र निर्यात ३२ गुणाले बढेको देखिन्छ ।

जानकारका अनुसार भारतमा भटमास तेलको उच्च मागका कारण नेपाली बजारबाट निर्यात ह्वात्तै बढेको हो । तर, कच्चा पदार्थ पूर्ण रूपमा आयातमा निर्भर हुँदा यस्तो अस्वाभाविक वृद्धि दीर्घकालीन रूपमा दिगो नहुने उनीहरूको मूल्याङ्कन छ ।

नेपालमा भटमास तेल उत्पादनका लागि आवश्यक कच्चा पदार्थको पर्याप्त आपूर्ति नहुँदा व्यवसायीहरूले अर्जेन्टिना, ब्राजिल, पाराग्वे र कतारजस्ता देशहरूबाट ठूलो परिमाणमा क्रुड सोयाबिन आयल आयात गर्दै आएका छन् ।

आयातित कच्चा तेललाई सामान्य प्रशोधन गरी तयारी तेलका रूपमा भारत निर्यात गरिँदा भटमास तेल आयात–निर्यात सूचीमा लगातार शीर्ष स्थानमा रहँदै आएको विभागले जनाएको छ ।

  • Clock icon
    २०८२ कार्तिक १०, सोमबार