उदाउँदो सूर्यलाई अर्घ्य दिई सकियो छठ

  • Clock icon
    २०८२ कार्तिक ११, मंगलवार

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।

उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ ।

बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ ।

सूर्यको दर्शन गर्दा भक्तहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।

कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउनुहुन्छ । सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको उहाँले जानकारी दिनुभयो ।

यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो व्रतले मनले चिताएको पूरा हुने धेरै भक्तजनको विश्वास छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शनिबारदेखि सुरु भएको हो ।
चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ ।

यस दिनबाट छठ नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ ।

कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि यो पर्व सम्पन्न भएको हो । मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् ।

विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ २०४६ सालपछि काठमाडौँलागायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो ।

विसं २०६२ मा गुह्येश्वरी, गौरीघाट ठेगाना राखेर श्री छठ पूजा समिति विधिवत् जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि काठमाडौँमा छठको विशेष रौनक सुरु भएको हो ।

 

रासस

  • Clock icon
    २०८२ कार्तिक ११, मंगलवार