लुबुचेमा अल्टिच्युड एयरको हेलिकोप्टर हिउँमा चिप्लिँदा दुर्घटना, पाइलट सकुशल

  • Clock icon
    २०८२ कार्तिक १२, बुधबार

सोलुखुम्बुको लुबुचे क्षेत्रमा अल्टिच्युड एयरको हेलिकोप्टर बुधबार बिहान दुर्घटनामा परेको छ। खराब मौसमका कारण उडानका क्रममा हेलिकोप्टर हिउँमा चिप्लिएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनामा हेलिकोप्टरका पाइलट विवेक खड्का सकुशल रहेका छन्। हेलिकोप्टरमा अन्य कुनै यात्रु नरहेकाले थप मानवीय क्षति भएको छैन। घटनास्थलमा उद्धार टोली पुग्ने क्रममा रहेको र विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। हेलिकोप्टरमा केही भौतिक क्षति पुगेको बताइएको छ।

स्थानीय स्रोतका अनुसार, लुबुचे क्षेत्रमा पछिल्ला केही दिनदेखि मौसम अत्यन्तै प्रतिकूल रहेकाले हवाई गतिविधिमा असर परिरहेको छ। प्रारम्भिक जानकारीअनुसार, दुर्घटनाको विस्तृत कारण र क्षतिको पूर्ण विवरणका लागि अनुसन्धान सुरु गरिएको छ।

  • Clock icon
    २०८२ कार्तिक १२, बुधबार