कुमारी बैंक लिमिटेडले निवर्तमान जीवित देवी कुमारी तृष्णा शाक्यलाई शैक्षिक छात्रवृत्ति रकम औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ। बैंकले हरेक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि एक लाख रुपैयाँ दरले कोष संकलन गर्दै आएको थियो। सो परम्पराअनुसार जम्मा भएको कुल ७ लाख ३८ हजार ८११.९५ रुपैयाँ निवर्तमान कुमारीलाई छात्रवृत्ति स्वरूप प्रदान गरिएको हो।
बैंकका अधिकारीहरूले बताएअनुसार, यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपछि उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्याउनु हो। कुमारी बैंकले विगत २४ वर्षदेखि देशभरका ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ्ग ईकाई र ३१७ एटिएम मार्फत शिक्षा, स्वास्थ्य, उद्यमशीलता र वातावरण संरक्षण जस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।
बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
