हिउँपातमा फँसेका दुई हजारभन्दा बढी पर्यटकको उद्धार सम्पन्न

  • Clock icon
    २०८२ कार्तिक १३, बिहीबार

काठमाडौं । लगातारको वर्षा र भीषण हिमपातका कारण देशका हिमाली क्षेत्रहरूमा फँसेका करिब दुई हजार आन्तरिक तथा विदेशी पर्यटकको सफलतापूर्वक उद्धार गरिएको छ।

मनाङ, मुस्ताङ, म्याग्दी र गोरखाजस्ता उच्च हिमाली जिल्लाहरूमा हिमपात भएको बेला ट्रेकिङको चरम सिजन चलिरहेको हुँदा सयौँ स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदयात्रीहरू उच्च हिमाली मार्गमा फँसेका थिए।

सुरक्षा निकायका अनुसार बिहीबार बिहानसम्म करिब १,५०० आन्तरिक तथा स्थानीय पर्यटक र २०० भन्दा बढी विदेशी पर्यटकलाई सुरक्षितरूपमा उद्धार गरिएको छ। केही पर्यटकहरू अझै पनि गहिरो हिउँले ढाकिएका क्षेत्रहरूमा फँसेका भए पनि तिनीहरूको उद्धार कार्य जारी छ।

मनाङ जिल्लामा सबैभन्दा बढी उद्धार कार्य गरिएको छ। हिमपातपछि तुरुन्तै स्थानीय प्रशासनले सेनाको उद्धार टोली, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरूको सहयोगमा आपत्कालीन उद्धार अभियान सुरु गरेको थियो।

तिलिचो, खाङ्सार, पिसाङ र अपर मनाङ क्षेत्रका सबै पर्यटकलाई सुरक्षित स्थानमा पुर्‍याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। तिलिचो र वरपरका क्षेत्रमा मात्रै करिब १,५०० भन्दा बढी आन्तरिक तथा विदेशी पर्यटकलाई उद्धार गरिएको हो।

हाल स्वेच्छाले केही स्थानीय र पर्यटकहरू त्यहीँ बस्ने निर्णय गरेकाबाहेक सबै जनालाई उद्धार गरी सुरक्षित स्थान चामे र बेसिसहर पुर्‍याइएको छ।

हिउँका कारण सडकहरू अवरुद्ध हुँदा यातायातमा समस्या आएपछि १५ वटा जिप र २ वटा बस परिचालन गरी उद्धार गरिएका पर्यटकहरूलाई सुरक्षित रूपमा तलका बस्तीहरूमा पुर्‍याइएको हो।

उद्धार कार्य नेपाली सेनाको नयाँ भैरवी गण, सशस्त्र प्रहरी बल र स्थानीयवासीहरूको संयुक्त प्रयासमा सम्पन्न भएको हो। प्रशासनका अनुसार थप जोखिम क्षेत्रहरूमा पनि निरन्तर निगरानी राखिएको छ र मौसम सुधारिएसँगै ट्रेकिङ मार्ग पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

  • Clock icon
    २०८२ कार्तिक १३, बिहीबार