दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

  • Clock icon
    २०८२ कार्तिक १३, बिहीबार

कुनै समय हजारौंलाई रोजगारी दिएको हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको ऐतिहासिक ‘शान्ति (नेपाल) वनस्पति घ्यू उद्योग लिमिटेड’ यतिबेला बन्द अवस्थामा छ ।

राजनीतिक हस्तक्षेप, नीति अस्थिरता र औद्योगिक योजनाको कमीका कारण करिब तीन दशकअघि नै बन्द भएको पूर्वकर्मचारी एवम स्थानीबासीको भनाइ छ । यो प्रतिष्ठान अहिले पुरानो भग्नावशेषका रूपमा मात्र बाँकी छ ।

पूर्वकर्मचारी रामबहादुर खड्काका अनुसार, यो उद्योगले करिब १० हजारभन्दा बढी नेपालीलाई नियमित रोजगारी दिएको थियो तर, दलगत स्वार्थ, व्यवस्थापकीय कमजोरी र दीर्घकालीन औद्योगिक दृष्टिकोणको अभावले गर्दा उद्योग क्रमशः खस्किदै गएको छ ।

‘राजा महेन्द्र वीरविक्रम शाहले आफ्नी बहिनी शान्तिदेवी शाहको नाममा स्थापना गर्नुभएको यो उद्योग गणतन्त्र आएपछि पूर्ण रूपमा बन्द भयो, खड्काले भने, ‘स्थिर नीतिको अभाव र राजनीतिक भागबन्डाले हजारौँ परिवारको जीवननिर्वाह गर्ने यो उद्योग आज बिर्सनलायक ढिस्को बनेको छ ।’

ऐतिहासिक पृष्ठभूमि

शान्ति वनस्पति घ्यू उद्योग १३ जुलाई १९७६ (२०३३ असार) मा स्थापना भई १६ जुलाई १९८२ (२०३९ असार) देखि उत्पादनमा आएको थियो । करिब ८९ रोपनी (४.५ हेक्टर) क्षेत्रफलमा फैलिएको यस उद्योगले ‘शान्ति ब्रान्ड’ नाममा वनस्पति घ्यू उत्पादन गथ्र्यो, जुन एक समय देशभर चर्चित थियो । काठमाडौंदेखि धरान, पोखरा र जनकपुरसम्म यसको माग उल्लेखनीय थियो ।

तर, समयक्रममा भारतसँगको प्रतिस्पर्धा, कर असमानता र कच्चा मालको अभावजस्ता कारणले उद्योग कमजोर हुँदै गयो ।  १९९० को दशक तिर नै उद्योग संकटमा फसेको र २००७/०८ आर्थिक वर्षसम्म आइपुग्दा उत्पादन पूर्ण रूपमा बन्द गर्नुपरेको बताइएको छ ।

बन्द हुनुका कारण

उद्योग बन्द हुनामागका प्रमुख कारणहरूमा भारतबाट अत्यधिक सस्तो वनस्पति घ्यूको आयात, कर संरचनामा असमानता, व्यवस्थापनको कमजोरी र कच्चा मालको आपूर्तिमा समस्या प्रमुख रुपमा रहेको औंल्याइन्छ ।

नेपालमा कर दर निरन्तर बढ्दै गए पनि भारतमा वनस्पाती उद्योगलाई सब्सिडी र कर छुट दिइँदै आएको थियो । त्यसले गर्दा नेपाली उत्पादन बजारमा प्रतिस्पर्धा गर्न नसकेको उद्योगका पुराना रिपोर्टहरुमा उल्लेख छ ।

त्यससँगै उद्योगभित्रै हुने राजनीतिक हस्तक्षेप र कर्मचारी नियुक्तिमा दलगत भागबन्डा पनि यसको पतनको मुख्य कारण बनेको पूर्व कर्मचारीहरू बताउँछन् ।

‘व्यवसायिक दक्षता भन्दा पनि पार्टी निष्ठा हेरेर नियुक्ति गर्न थालियो,’खड्काले सम्झिए, ‘त्यो क्षणदेखि नै उद्योगको पतन सुरु भयो ।’

निष्क्रिय जग्गा र पुनःप्रयोगको प्रयास

हेटौंडा औद्योगिक क्षेत्र कार्यालयका अनुसार, उद्योग बन्द भएपछि लामो समयसम्म ८९ रोपनी जग्गा निष्क्रिय रह्यो । पछिल्ला वर्षहरूमा सरकारले त्यस्ता निष्क्रिय उद्योगका जग्गा फिर्ता लिएर पुनःउत्पादनशील बनाउन पहल थालेको छ ।

तर, ‘साल्ट ट्रेडिङ कर्पोरेसन’ लगायतका केही संस्थाले त्यही क्षेत्रमा लिजमा जग्गा लिएर पनि लामो समय उपयोग नगरेका कारण विवाद बढ्दै गएको स्थानीय उद्योगीहरूको भनाइ छ ।

औद्योगिक क्षेत्रका एक अधिकृतका अनुसार, ‘हेटौंडा औद्योगिक क्षेत्रका धेरै उद्योगहरू दशकौँदेखि निष्क्रिय छन् । सरकारले ती जग्गा पुनःसक्रिय बनाउन प्रयास थालेको छ, तर कानुनी र प्रशासनिक प्रक्रिया जटिल छन्।’

नीति अस्थिरताको असर

अर्थविद्हरूको ठहरमा, शान्ति वनस्पति घ्यू उद्योगको पतन नेपालमा दीर्घकालीन औद्योगिक नीतिको अभाव र राजनीतिक हस्तक्षेपको परिणाम हो ।

‘यदि त्यतिबेला नीति स्थिर र कर सन्तुलन कायम भएको भए, यो उद्योग अझै सञ्चालनमा रहन्थ्यो,’ उद्योग चेम्बरका एक पूर्व अधिकारीले बताए ।

युगको अन्त्य

आजपनि उद्योगको भवन, चिम्नी र गोदामहरू हेटौंडा औद्योगिक क्षेत्रमा जस्ताको तस्तै देख्न सकिन्छ। तर, ती अब उत्पादनको प्रतीक होइन, एउटा गुमेको औद्योगिक युगको साक्षी बनेका छन् ।

स्थानीयहरू भन्छन्, ‘शान्ति उद्योगले हेटौंडाको औद्योगिक पहिचान बनाएको थियो। अहिले त्यही पहिचान धुलोमा हराएको छ ।’

राजनीतिकरण, नीति अस्थिरता र योजनाको कमी— यी सबै कारणले ‘शान्ति वनस्पति घ्यू उद्योग’ मात्र होइन, नेपालकै औद्योगिक इतिहासको एउटा स्वर्ण अध्याय बन्द भएको प्रतिक बनेको छ ।

 

  • Clock icon
    २०८२ कार्तिक १३, बिहीबार