काठमाडौं | नेपाल सरकारले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि लागू गरिएका सबै पुराना प्रावधानहरू खारेज गरी नयाँ र सहज मापदण्ड लागू गरेको छ। गृह मन्त्रालयको मिति २०८२।७।१३ गतेको निर्णयअनुसार भिजिट भिसामा विदेश प्रस्थान गर्न अब निकै कम कागजातहरू आवश्यक पर्नेछ। यसअघि २०८०।१०।१० देखि लागू गरिएको ६ बुँदे मापदण्ड लाई पनि पुनरावलोकन गरी खारेज गरिएको छ।
अध्यागमन प्रशासनको स्वीकारोक्ति र सुधारको पहल
अध्यागमन विभागले जारी गरेको विज्ञप्तिमा विगतमा नागरिक सुरक्षाका लागि भनी गरिएका व्यवस्थाहरू नै कतिपय अवस्थामा नागरिकलाई हैरानी र अनियमितताका कारक बनेको यथार्थता स्वीकार गरिएको छ। भिजिट भिसामा हुने अनियमितताले गर्दा नै अनुमान, शंका र तजबिजी निर्णय लिने तथा परीक्षण गर्न नसकिने कागजात माग गर्ने अवस्था सिर्जना भएको विभागको ठहर छ। यसैलाई आत्मासात् गरी अध्यागमन प्रशासनमा सुशासन कायम गर्ने दिशामा निरन्तर सुधारका कामहरू भइरहेको जनाइएको छ।
नयाँ व्यवस्थाको मुख्य उद्देश्य
विभागले अध्यागमन नियमन र सहजीकरणबीच सन्तुलन कायम गर्दै राष्ट्रिय सुरक्षाका चुनौतीलाई सम्बोधन गर्न र अध्यागमन प्रशासनमा पूर्ण सुशासन कायम गर्नलाई मुख्य कार्यभारको रूपमा लिएको छ। भिजिट भिसाको व्यवस्थापनमा मात्र अल्मलिँदा विदेशी नागरिकको गहिरो जाँचपड्ताल र निगरानीजस्ता महत्त्वपूर्ण कार्यहरू ओझेलमा परेको तितो यथार्थलाई पनि औंल्याइएको छ।
संविधानप्रदत्त अधिकारको प्रत्याभूति
उच्चस्तरीय अध्ययन एवं छानविन समिति, २०६२ को सिफारिसलाई आधार मान्दै नेपालको संविधानप्रदत्त नागरिकका मौलिक हक, मानवअधिकार र स्वतन्त्रतापूर्वक आवतजावत गर्ने अधिकारको प्रत्याभूति गर्न तथा स्वार्थ समूहका चलखेललाई निरुत्साहित गर्न नयाँ व्यवस्था लागू गरिएको हो। यो व्यवस्था आजकै मितिदेखि कार्यान्वयनमा आएको छ।
अबको यात्रा सहज
विभागले सबै नेपाली नागरिकहरूलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी, आफ्नो गन्तव्य र यात्राको बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क भएर यात्रा गर्न अनुरोध गरेको छ। यससँगै सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूलाई पनि यो सूचना नागरिकसम्म पुर्याउन सहयोगका लागि अनुरोध गरिएको छ।
के छ नयाँ नियम ?
१. कम्तीमा ६ महिना वैध अवधी भएको राहदानी,
२. सम्बन्धित देशको प्रवेशाज्ञा (VISA) वा On Arrival visa प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने,
३. प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट,
४. आफू भ्रमण गर्ने प्रयोजनको लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने समेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्व: घोषणा ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            