प्रचण्ड-माधव सहितका ७ पार्टी मिल्ने

  • Clock icon
    २०८२ कार्तिक १५, शनिबार

नेकपा माओवादी केन्द्रको पहलमा हुन लागेको एकता प्रक्रियामा विभिन्न सातवटा पार्टी सामेल हुने भएका छन् ।

माओवाद केन्द्रका अनुसार, केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीका माधवकुमार नेपालसहित एकता गर्ने गरी टुंगो लागेका पार्टीको संख्या सात वटा छ ।

जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीमा विद्रोह गरेर बनेको महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।

यसका अलावा नेकपा एमालेमा विद्रोह गरेर बनेको प्रेमबहादुर सिंह नेतृत्वको पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी र विप्लवको पार्टीमा विद्रोह भएर बनेको चिरण सी नेतृत्वको समूह एकता प्रक्रियामा सहभागी हुने टुंगो लागेको हो ।

एकताको विषयमा छलफल गर्न शनिबार माओवादी केन्द्रको पार्टीको सचिवालय बैठक नै राखेको थियो । बैठकपछि एकताबारे नै छलफल भएको माओवादी केन्द्रले जनाएको छ ।

‘वैचारिक, राजनीतिक, सैद्धान्तिक र नीतिगत कुराहरू करिब–करिब कुरा फाइनल भइसकेको छ । आज प्रावधिक र सांगठनिक कुरामा छलफल भएको छ,’ माओवादी पार्टी कार्यालयले जनाएको छ ।

नेताहरूका अनुसार, एकतापछि बन्ने पार्टीको नेतृत्वमा प्रचण्ड रहनेछन् । तत्काललाई प्रचण्डलाई संयोजक र माधवकुमार नेपाललाई सहसंयोजक तोकेर जानेगरी छलफल चलिरहेको छ ।

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले शुक्रबार मात्रै माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो । भोलिपल्टै माओवादीको सचिवालय बैठक बसेको हो । एकताको निर्णय अनुमोदनका लागि माओवादले यही कात्तिक १७ गते केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ ।

सचिवालय बैठकपछि प्रचण्डले एकता प्रक्रियामा रहेका दलहरूको एकता सभा एक साताभित्रै भइसक्ने बताएका छन् । उनका अनुसार एकता प्रक्रियामा रहेका दलहरूभित्र फरकमत राख्नेसँग समेत छलफल चलिरहेको छ । सबै एकताबद्ध भएर एकतामा जाँदै गरेको हो ।