‘डेमोक्रेटिक जेन–जेड फोरम’ गठन, लोकतान्त्रिक मूल्यमा आस्थावान युवाको साझा मञ्च

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार

लोकतान्त्रिक मूल्य र सिद्धान्तमा विश्वास गर्ने नयाँ पुस्ताका युवाहरुलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित ‘डेमोक्रेटिक जेन–जेड फोरम’ औपचारिक रूपमा गठन गरिएको छ। आइतबार सार्वजनिक गरिएको उक्त फोरमको संयोजन सुरेन्द्र भण्डारीले गरेका छन्।

फोरमले देशभरका लोकतन्त्रप्रेमी युवाहरुलाई संगठित गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने लक्ष्य लिएको छ। यसको कार्यसमितिमा इलामका पुजन चाम्लिङ राई, ललितपुरकी रिषा थापा, अछामका सरोज बिष्ट, हुम्लाका विसाल शाही, कालीकोटका कुम्भराज सहयोगी देउवा, दैलेखका जनक साउद र रमेश न्यौपाने, पोखराका लक्ष्मीप्रसाद पौडेल, मुगुकी सुनिता मल्ल, धादिङका विनोद उपाध्याय, धनुषाका निरञ्जन रोहिता, र अन्य युवाहरु समावेश छन्।

फोरमको स्थापना घोषणामा भनिएको छ — “लोकतन्त्र, राष्ट्रिय सार्वभौमिकता, समावेशिता, संघीयता, गणतन्त्र, प्रेस स्वतन्त्रता, नागरिक सर्वोच्चता र न्यायिक स्वतन्त्रता जस्ता मूल्यमा आस्था राख्ने युवाहरुलाई एकत्रित गर्ने हाम्रो उद्देश्य हो।”

फोरमले लोकतन्त्रका यी स्तम्भहरू कमजोर पार्ने वा धरापमा पार्ने कुनै पनि प्रयासविरुद्ध सशक्त प्रतिरोध गर्ने प्रतिबद्धता जनाएको छ।

संयोजक भण्डारीका अनुसार, फोरमले अघिल्ला पुस्ताबाट भएका कमजोरीको समीक्षा गर्दै, त्यस्ता गल्ती नदोहोर्याई लोकतन्त्रलाई अझ परिष्कृत र परिपक्व रूप मा अगाडि बढाउने प्रयत्न गर्नेछ।

उनले निकट भविष्यमा सातै प्रदेश र ७७ जिल्लामा समन्वयकर्ता नियुक्त गरी लोकतान्त्रिक सोच बोकेका जेन–जेड युवाहरुलाई राष्ट्रिय रूपमा संगठित गर्ने तयारी भइरहेको जानकारी दिए।

भण्डारीका शब्दमा, “यो फोरम केवल संगठन होइन, नयाँ पुस्ताको लोकतान्त्रिक चेतना र जिम्मेवारीबोधको सामूहिक अभियान हो।”

  • Clock icon
    २०८२ कार्तिक १६, आईतवार