नेपाली कांग्रेसको स्थगित केन्द्रीय समिति बैठक आज पुनः बस्दैछ। शुक्रबारका लागि तय भएको बैठक स्थगित भएपछि अब आज दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने तयारी भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
बैठकको केन्द्रमा पार्टीभित्र बढ्दो मतभेद — विशेष गरी आगामी १५औं महाधिवेशनको समय तालिका — रहेको छ।
महासचिवहरू गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहले महाधिवेशन पुसअघि अर्थात् डिसेम्बरभित्र सम्पन्न गर्नुपर्ने माग गर्दै आएको छ। तर, स्थापित नेतृत्व समूहले निर्वाचनअघि महाधिवेशन सम्भव नभएको र त्यसको तालिका पर सार्नुपर्ने अडान लिएको छ।
यही विवादबीच करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन आह्वान गर्न मागसहित हस्ताक्षर बुझाइसकेका छन्। यसले पार्टीभित्रको आन्तरिक असन्तोष झन् बढाएको छ।
आजको बैठकमा उक्त विषयलाई मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरिने र सहमतिको प्रयास गरिने बताइएको छ। त्यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुवै महासचिव र शीर्ष नेताहरूसँग छुट्टै परामर्श बैठक बोलाएका छन्।
सानेपामा आज बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशन मिति, संगठनात्मक तयारी, र पार्टीभित्र देखिएको असन्तोष समाधानका उपायबारे निर्णायक छलफल गर्ने अपेक्षा गरिएको छ।
