सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्यांकन सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडले यसपटक कम्पनीलाई ‘त्रिपल बी’ बाट ‘त्रिपल बी प्लस’ मा उकासेको छ। यस श्रेणीमा पर्ने कम्पनीले आफ्ना वित्तीय दायित्वहरू समयमै पूरा गर्ने क्षमता थप सुरक्षित रहेको देखिन्छ।
केयर नेपालका अनुसार, कम्पनीको सुदृढ वित्तीय प्रदर्शन, प्रिमियम आम्दानीमा निरन्तर वृद्धि, र अनुकूल दाबी व्यवस्थापनले मूल्यांकन सुधारमा मुख्य भूमिका खेलेको छ। हकप्रद निष्कासनमार्फत चुक्ता पुँजीमा भएको वृद्धि र मूर्त सम्पत्तिमा सुधारले आगामी वर्षमा दायित्व वहन क्षमता (सोल्भेन्सी) अझ सबल हुने अपेक्षा गरिएको छ।
कम्पनीको लगानी पोर्टफोलियो सुरक्षित र ब्याज आम्दानी हुने साधनमा पर्याप्त छ, लगानीको गुणस्तर राम्रो रहेको र पर्याप्त पुनर्बीमा व्यवस्थापनले कम्पनीलाई थप बलियो बनाएको मूल्यांकन प्रतिवेदनमा उल्लेख छ। सोल्भेन्सी अनुपात नियामक न्यूनतम मापदण्डभन्दा माथि कायम रहेको पनि कम्पनीको बलियो पक्ष मानिएको छ।
प्रतिवेदनले आगामी दिनमा बीमा व्यवसायको विविधीकरण, लगानीको गुणस्तर कायम राखी प्रिमियम वृद्धिलाई निरन्तरता दिनु, र न्यूनतम पुँजी तथा सोल्भेन्सी अनुपात कायम राख्नु कम्पनीको मूल्यांकनमा निर्णायक हुने बताएको छ।
कम्पनीले पछिल्ला वर्षहरूमा जीवन बीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै, ग्राहक विश्वास वृद्धि गर्दै संस्थागत ढाँचा मजबूत बनाउने दिशामा काम गरेको छ।
आर्थिक वर्ष २०८१/८२ मा सन नेपाल लाइफले व्यापक पुनर्बीमा संरचना अपनाएको छ। सबै बीमा व्यवसायमध्ये ६–६% दरले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीमा प्रत्यक्ष हस्तान्तरण गरिएको छ। बाँकी जोखिममा १२ लाख रुपैयाँसम्म कम्पनीले आफैँ जोखिम राख्ने व्यवस्था गरेको छ। थप जोखिम ३०% पुनर्बीमा गरिन्छ। वैदेशिक रोजगारी बीमा योजनामा पनि न्यूनतम जोखिम सुनिश्चित गर्ने सामूहिक पुनर्बीमा प्रणाली लागू छ।
कम्पनीको सञ्चालक समिति अनुभवी सदस्यहरूको नेतृत्वमा, मुख्य कार्यकारी अधिकृत राजकुमार अर्याल कम्पनीको दैनिक सञ्चालनमा सक्रिय छन्। प्रवद्र्धक समूहमा केयल, के.सी., र रुँगटा समूहका प्रतिष्ठित व्यक्तित्व र संस्थाहरू संलग्न छन्।
सन नेपाल लाइफको सेवा देशभर ४९ शाखा र ९९ उप–शाखामा फैलिएको छ, ७० जिल्लामा उपस्थित छ। कम्पनीसँग हाल ४०,४३८ जना बीमा प्रतिनिधि छन्, जुन अघिल्लो वर्षको तुलनामा बढेको छ।
कम्पनी २०६४ साल असोज ३० गते दर्ता भएको थियो र २०७४ साल साउन १८ गते बीमा सञ्चालन अनुमति प्राप्त गरेको थियो। आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कम्पनीको सम्पत्ति आधार १८ अर्ब २ करोड रुपैयाँ पुगेको छ।

