पञ्चकन्या ग्रुप अन्तर्गतका दुई उद्योगमा विवादित डेडिकेटेड र ट्रङ्कलाइन प्रिमियमको पहिलो किस्ता बुझाएपछि बिजुली लाइन पुनः जडान भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भैरहवास्थित पञ्चकन्या प्लाष्टिक उद्योग र पञ्चकन्या स्टील इण्डष्ट्रिजले बक्यौताको पहिलो किस्ता दाखिला गरेका हुन्।
किस्ता र विवरण:
- 
पञ्चकन्या प्लाष्टिक उद्योग: रु. ७७,९७५
 - 
पञ्चकन्या स्टील इण्डष्ट्रिज: रु. १,८६,४०५
 
पहिलो किस्ता भुक्तानी भएपछि दुवै उद्योगमा विद्युत लाइन पुनः जडान गरिएको छ।
तर, पञ्चकन्या समूहले ट्रङ्कलाइनमार्फत विद्युत प्रयोग गरेको कुरा भने स्वीकार नगरेको बताइएको छ। समूहका महाप्रबन्धक देवेन्द्र साहुका अनुसार, न्यायिक प्रक्रिया जारी राख्दै उद्योग सञ्चालन गर्ने उद्देश्यका लागि पहिलो किस्ता तिरेको हो।
साहुले भने, “हामीले विद्युत नियमन आयोगमा उजुरी दर्ता गराएका छौँ, जसले ९० दिनभित्र फैसला दिनेछ। चित्तबुझ्दो फैसला नआए अदालत जाने बाटो बाँकी छ।”
उनले थपे, “राष्ट्रिय गौरवका आयोजनाहरूको अर्डर समयमै दिनुपर्ने, उद्योग लामो समय बन्द राख्न नसकिने र १,२०० कर्मचारी तथा श्रमिकको दायित्व र अनुरोधका कारण पनि उद्योग सञ्चालनमा राखिएको हो। हामी हडताल गर्न नभई उद्योग चलाउन बजारमा छौँ।”
                        
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
                                            
                                                    
                            