डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोगसम्बन्धी समस्या बिस्तारै समाधान हुँदै गएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा मंगलबार भएको प्रभावकारी छलफलपछि उद्योगहरूले बक्यौता भुक्तानीको पहिलो किस्ता तिर्न सहमति जनाएपछि नौ उद्योगले किस्ता बुझाउन थालेका हुन्।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, हालसम्म भलवारि स्वचालित चा. उद्योग, एसआर फुड्स, एसआर स्टिल, पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, श्याम प्लास्टिक, सिद्धार्थ पेट प्लास्ट, घराना फुड्स र गोयन्का फुड्स गरी नौ उद्योगले बक्यौता भुक्तानी सुरु गरेका छन्।
यसपछि प्राधिकरणले ती उद्योगहरूका लागि विद्युत् लाइन पुनः जडान गरेको छ। बुधबार मात्रै घराना फुड्स र गोयन्का फुड्सले पहिलो किस्ता बापतको रकम बुझाएका हुन्।
प्राधिकरणका अनुसार, घराना फुड्सको १ करोड ८७ लाख ६९ हजार रुपैयाँ र गोयन्का फुड्सको १ करोड ४७ लाख ६७ हजार रुपैयाँ बक्यौता बाँकी रहेको छ। पहिलो किस्ता भुक्तानीपछि बाँकी रकम पनि चरणबद्ध रूपमा तिर्न उद्योगहरूले प्रतिबद्धता जनाएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घले विद्युत् आपूर्तिमा सुधार र उद्योग सञ्चालनमा सहजता ल्याउनका लागि प्राधिकरण र निजी क्षेत्रबीचको समन्वय निरन्तर जारी रहने जनाएको छ।
