एक महिनामै १४ अर्बको बीमा व्यापार, नेपाल लाइफ शीर्षस्थ

  • Clock icon
    २०८२ कार्तिक २०, बिहीबार

नेपालमा जीवन बीमा बजारले असोज महिनामा उल्लेखनीय व्यापार विस्तार गरेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्मको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरूले एक महिनामै करिब १४ अर्ब रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।

प्राधिकरणका अनुसार असोज मसान्तसम्म बीमा कम्पनीहरूले जम्मा ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। तीमध्ये असोज महिनामा मात्रै १३ अर्ब ९७ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरिएको हो।

असोज महिनामा बीमा कम्पनीहरूले १० अर्ब ९७ करोड ९७ लाख रुपैयाँ नविकरणमार्फत र २ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ नयाँ बीमा (प्रथम बीमा शुल्क) बाट आर्जन गरेका छन्।

सबैभन्दा ठूलो हिस्सा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ओगटेको छ। कम्पनीले असोजमा ३ अर्ब ७७ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। यसमा ८६ करोड ६ लाख रुपैयाँ नयाँ व्यापार र २ अर्ब ९१ करोड २१ लाख रुपैयाँ नविकरण बीमा शुल्क रहेको प्राधिकरणले जनाएको छ।

दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ, जसले असोज महिनामा १ अर्ब ७० करोड २० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। यसमा १ अर्ब ३१ करोड २१ लाख नविकरणमार्फत र ३८ करोड ९८ लाख नयाँ बीमा शुल्क समावेश छन्।

तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ, जसले असोजमा १ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ — जसमा १ अर्ब ३८ करोड ६७ लाख नविकरणबाट र २० करोड २४ लाख नयाँ बीमा शुल्क समावेश छ।

त्यसपछि हिमालयन लाइफ ले १ अर्ब २६ करोड ३८ लाख रुपैयाँ, सूर्यज्योति लाइफ ले ८६ करोड ५७ लाख, एशियन लाइफ ले ७८ करोड ५३ लाख, सिटिजन लाइफ ले ६७ करोड ७२ लाख, सानिमा रिलायन्स लाइफ ले ६० करोड ९७ लाख, र मेट लाइफ ले ६० करोड ९३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।

त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले ४५ करोड १९ लाख, रिलायबल नेपाल लाइफले ४४ करोड २५ लाख, प्रभू महालक्ष्मी लाइफले ४३ करोड ७ लाख, र आइएमई लाइफले ४२ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

  • Clock icon
    २०८२ कार्तिक २०, बिहीबार