जेनजी आन्दोलनको एक महिनाभित्र निर्जीवन बीमा व्यापारमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ बराबरको निर्जीवन बीमा व्यापार भएको छ, जुन गत भदौ मसान्तसम्मको ८ अर्ब २९ करोड ३२ लाखभन्दा ५५.८४ प्रतिशत बढी हो।
असोज महिनामा मात्र कम्पनीहरूले ४ अर्ब ६३ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्, भदौमा मात्र ३ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ भएको थियो। मासिक व्यापार ग्रोथ १८.८६ प्रतिशत पुगेको देखिन्छ।
मोटर बीमा व्यवसायले सबैभन्दा ठूलो योगदान दिएको छ। भदौ मसान्तसम्म मोटर बीमाबाट २ अर्ब ३० करोड ६९ लाख रुपैयाँ आर्जन भएको थियो, असोजमा ४ अर्ब २६ करोड १९ लाख रुपैयाँ पुगेको छ। असोज महिनामा मात्रै १ अर्ब ९५ करोड ४९ लाख बराबरको मोटर बीमा शुल्क संकलन भएको छ, र १ लाख ५० हजार ५९४ वटा मोटर बीमालेख जारी भएका छन्।
सम्पत्ति बीमामा पनि उल्लेखनीय वृद्धि देखिएको छ। भदौ मसान्तसम्म २ अर्ब ५१ करोड ४२ लाखको बीमा शुल्क आर्जन भएको थियो, असोजमा ३ अर्ब ५४ करोड ७६ लाख पुगेको छ। असोज महिनामा मात्रै १ अर्ब ३ करोड ३३ लाख बराबरको सम्पत्ति बीमा गरिएको छ, र ४३ हजार ८६० वटा बीमालेख बिक्री भएका छन्।
हाल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाले ३२.९७% र सम्पत्ति बीमाले २७.४४% हिस्सा ओगटेको छ। यी दुई बीमाले कुल ६०.४२% योगदान दिएका छन्। सरकारले मोटर र सम्पत्ति बीमा अनिवार्य गरेकाले यसमा वृद्धि भएको देखिन्छ।
जेनजी आन्दोलन र हालैको असोज १८ गतेको बाढी–पहिरोले घर तथा सवारी साधनमा क्षति पुर्याएपछि बीमा आकर्षण अझ बढेको प्राधिकरणले जनाएको छ। आन्दोलनमा मोटर बीमामा ३ अर्ब ४४ करोड २५ लाख र सम्पत्ति बीमामा १९ अर्ब १ करोड ९३ लाख रुपैयाँ बराबरको दावी परेको थियो। बाढी–पहिरोमा मोटर बीमा ३ करोड ७४ लाख र सम्पत्ति बीमा ३ अर्ब १९ करोड ४९ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ।
अन्य बीमा प्रकारमा पनि वृद्धि देखिएको छ। असोजमा इन्जिनियरिङ तथा ठेक्का बीमा ४६.९०% वृद्धि भई १ अर्ब ६० करोड ३६ लाख पुगेको छ। कषि–बाली बीमा ५२.११% बढेर ४९ करोड ९३ लाख, हवाई बीमा ४६.४४% बढेर ५१ करोड ६९ लाख, सामुन्द्रिक बीमा ३९.४९% बढेर ७४ करोड ५ लाख, लघु निर्जीवन बीमा ६२.३८% बढेर २७ करोड ३२ लाख, र विविध शीर्षकको बीमा ४८.९०% बढेर १ अर्ब ४८ करोड १९ लाख रुपैयाँ कायम भएको छ।
