नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा ठूलो धर्म मानव सेवा भएको बताउँदै धर्मसँग मानवीय सेवालाई जोडेर हेर्नुपर्ने औँल्याएका थिए।
मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजित श्रीमद भागवत ज्ञान महायज्ञको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ढकालले भने, “सबैभन्दा ठूलो धर्म मानव सेवा हो, यसलाई मानव धर्म पनि भनिन्छ। त्यसैले मानवीय भावनालाई धर्मसँग जोडेर हेर्नुपर्छ।”
उनले वैदिक सनातन धर्मका दृष्टिले महत्वपूर्ण गण्डक क्षेत्रमा धार्मिक गतिविधि बढेको र यसलाई अझ तीव्रता दिँदै बागलुङ जिल्ला र वरिपरि क्षेत्रको प्रचारप्रसार गर्न आवश्यक रहेको पनि बताए।
अध्यक्ष ढकालले बागलुङ धार्मिक पवित्र भूमि भएको र यही स्वरुपमा चिनाउन आवश्यक रहेको उल्लेख गरे। मुक्तिनाथ र दामोदरकुण्डको काखमा रहेको पवित्र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण हुन लागेकोमा उनले खुशी व्यक्त गरे। साथै उनले भने कि आफ्नो जन्मस्थानमा निर्माण हुन लागेको आश्रमको भवनका लागि व्यक्तिगत र संस्थागत रुपमा सहभागी हुने योजना रहेको छ।
विश्वका हिन्दू धर्मावलम्बीका आस्थाका धरोहर मुक्तिनाथ क्षेत्र, दामोदर कुण्डदेखि गलेश्वर हुँदै बागलुङ कालिका, मोदीवेणी धाम र जैमिनीघाट जस्ता सुप्रसिद्ध तीर्थस्थलहरूको महत्व प्रचार गर्न पर्यटन पूर्वाधारमा लाग्ने र सबै जिल्लाबासीलाई सहभागी गराउनुपर्नेमा अध्यक्ष ढकालले जोड दिए।
उनले मानव सेवा आश्रमले सातै प्रदेशमा चलाएको सडक मानव मुक्त अभियानको प्रशंसा गर्दै पवित्र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण थालिएकोमा धन्यवाद व्यक्त गरे। साथै मानव सेवा आश्रममा लाग्ने प्रेरणादायी अभियान्ता र मानव जीवनका प्रेरणाका स्रोतहरूलाई मानवीय भावनामा लाग्ने प्रेरणा जागोस भन्ने आशा व्यक्त गरे।
