शनिबार राति साढे ९ बजेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ। करिब चार घण्टासम्म अवरुद्ध रहेका उडान र अवतरण सेवा पुनः सुचारु भएको विमानस्थल स्रोतले जनाएको छ।
विमानस्थलको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या उत्पन्न भएपछि साँझ साढे ५ बजेदेखि सम्पूर्ण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकिएका थिए। धावनमार्गमा बिजुली ‘सट’ हुँदा उक्त प्रणाली बिग्रिएको अनुमान गरिएको छ।
शनिबार बिहानदेखि नै विमानस्थलको धावनमार्गमा बिजुली सम्बन्धी समस्या देखिएको थियो। मर्मत प्रयास जारी रहे पनि समस्या समाधान नभएपछि साँझबाट सम्पूर्ण उडान स्थगित गरिएको थियो।
विमानस्थलका प्राविधिक टोलीले लगातार मर्मत कार्य गरेपछि राति साढे ९ बजे समस्या समाधान भई विमानस्थल पुनः सञ्चालनमा आएको हो। यद्यपि, समस्या आउने वास्तविक कारणबारे अझै अध्ययन भइरहेको विमानस्थल प्रशासनले जनाएको छ।
‘एयर फिल्ड लाइटिङ’ प्रणाली बिग्रँदा केही अन्तर्राष्ट्रिय उडान आकाशमै ‘होल्ड’मा राखिएका थिए भने कतिपय उडानहरू अन्य विमानस्थलमा ‘डाइभर्ट’ गरिएका थिए। आन्तरिक उडानका जहाजहरू भने त्रिभुवनमै रोकिएका थिए।
‘एयर फिल्ड लाइटिङ’ प्रणाली अँध्यारो समयमा धावनमार्गमा उज्यालो प्रदान गर्ने अत्यावश्यक संरचना हो, जसको बिना राति जहाजको सुरक्षित उडान र अवतरण सम्भव हुँदैन।
