अमेरिकी सरकार बन्दका कारण एकैदिन १,४०० भन्दा बढी उडान रद्द

  • Clock icon
    २०८२ कार्तिक २३, आईतवार

संघीय सरकार सटडाउनको प्रभावले अमेरिकाको हवाई यातायात प्रणाली अस्तव्यस्त बनेको छ। शनिबार मात्र देशभरका विभिन्न विमानस्थलहरूमा १,४०० भन्दा बढी उडान रद्द भएका छन् भने करिब ६ लाख उडानहरू ढिलो प्रस्थान वा अवतरण भएका छन्। बीबीसीका अनुसार यो संख्या पछिल्ला वर्षहरूकै सबैभन्दा ठूलो दैनिक उडान अवरोध हो।

संघीय सरकार बन्द (सटडाउन)का कारण अमेरिकी हवाई सेवा नियन्त्रण प्रणालीमा गम्भीर असर परेको छ। केही दिनअघि नै संघीय विमानन प्रशासन (FAA) ले हवाई यातायात नियन्त्रकहरू तलब बिना काम गर्न बाध्य भएकाले उनीहरूमा बढ्दो थकान र तनावका कारण ४० वटा व्यस्त विमानस्थलमा उडान क्षमता १० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको थियो।

१ अक्टोबरदेखि सुरु भएको यो सरकार बन्द शनिबार ३९औँ दिनमा प्रवेश गरेको छ, जसले अमेरिकी इतिहासकै सबैभन्दा लामो सटडाउनको रूप लिएको छ। रिपब्लिकन र डेमोक्र्याट पार्टीबीच बजेट स्वीकृतिसम्बन्धी विवाद अझै समाधान नभएको कारण सरकार पुनः सञ्चालनमा आउन सकेको छैन।

सरकार बन्दका कारण एयर ट्राफिक कन्ट्रोलर, सुरक्षा कर्मचारी, र अन्य प्राविधिक स्टाफहरू तलब बिना काम गर्न बाध्य भएका छन्। धेरैजना कर्मचारीहरूले बिरामीको बहाना बनाएर अनुपस्थित रहन थालेका छन् भने केहीले दैनिक खर्च धान्न दोस्रो जागिर लिन थालेका छन्।

यसले गर्दा अमेरिकाका प्रमुख विमानस्थलहरूमा उडान अवतरणमा औसत चार घण्टासम्म ढिलाइ भइरहेको छ भने प्रस्थान गर्ने उडानहरूमा डेढ घण्टासम्म ढिलाइ भइरहेको संघीय विमानन प्रशासनले जनाएको छ।

सरकार बन्दका कारण न केवल व्यावसायिक उडानहरू, तर निजी जेट सेवाहरू पनि रोकिएका छन्। अमेरिकन एयरलाइन्सले शनिबार एक विज्ञप्ति जारी गर्दै वाशिङ्टन डीसीका नेताहरूलाई शीघ्र राजनीतिक सहमति गरी सरकार बन्द अन्त्य गर्न आग्रह गरेको छ।

एफएएका अनुसार यदि सरकार बन्दको समस्या तत्काल समाधान भएन भने आगामी दिनमा उडान कटौती प्रतिशत अझ बढाउनुपर्ने सम्भावना छ, जसले अमेरिकी हवाई यातायात प्रणालीलाई झनै संकटमा पुर्‍याउने चेतावनी दिइएको छ।

  • Clock icon
    २०८२ कार्तिक २३, आईतवार