गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण देशभर ठूलो मात्रामा निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार आन्दोलनबाट करिब ७०० वटा घर तथा भवन क्षतिग्रस्त भएका छन् भने झन्डै २३ सय सवारीसाधन जलेका छन्।
प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार हालसम्म करिब साढे २३ अर्ब रुपैयाँ बराबरको क्षति भएको देखिएको छ। यसअन्तर्गत निर्जीवन बीमा कम्पनीहरूमा २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बराबरका बीमा दावी दर्ता भएका छन्। सोमबार (कात्तिक २४ गते) सम्ममा जम्मा ३ हजार २४६ वटा दावी पेश भइसकेका छन्।
तर हालसम्म कम्पनीहरूले कुल दावी रकमको १५.६९ प्रतिशत, अर्थात् ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ मात्र भुक्तानी गरेका छन्। बाँकी १९ अर्ब ७८ करोड ५० लाख रुपैयाँ अझै भुक्तानी हुन बाँकी छ।
सम्पत्ति बीमा अन्तर्गत ६९३ बीमालेखमा १९ अर्ब ४ करोड ९ लाख रुपैयाँ बराबरको दावी परेको छ, जसमा कम्पनीहरूले २ अर्ब ९२ करोड ८६ लाख रुपैयाँ मात्र भुक्तानी दिएका छन्। यस्तै, मोटर बीमा अन्तर्गत ३ अर्ब ४७ करोड ७ लाख रुपैयाँ दावी परेकामा ६८ करोड ६१ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ।
इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत ५४ करोड ७५ लाख रुपैयाँ दावी परेको छ, तर कम्पनीहरूले ६ करोड २२ लाख रुपैयाँ मात्रै तिरेका छन्। त्यसैगरी, परिवहन बीमामा १ करोड ६८ लाख र अन्य बीमामा ३९ करोड ३० लाख रुपैयाँ दावी दर्ता भएको छ। यी दुवै बीमा अन्तर्गत क्रमशः ४७ लाख र २३ लाख रुपैयाँ भुक्तानी भएको छ।
क्षति भुक्तानीमा सबैभन्दा ठुलो दायित्व सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र ओरियण्टल इन्स्योरेन्स कम्पनी मा देखिएको छ। सिद्धार्थ प्रिमियरमा ५ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ र ओरियण्टलमा ५ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ बराबरको दावी परेको छ। सिद्धार्थले हालसम्म १ अर्ब ५७ करोड ५१ लाख रुपैयाँ (२८.५६%) भुक्तानी दिएको छ भने ओरियण्टलले ०.७७ प्रतिशत (४ करोड १९ लाख रुपैयाँ) मात्र तिरेको छ।
त्यस्तै, आईजिआई प्रुडेन्सियलमा २ अर्ब ७९ करोड ९१ लाख, शिखर इन्स्योरेन्समा २ अर्ब ४२ करोड १ लाख, सगरमाथा लुम्बिनीमा १ अर्ब ५७ करोड २६ लाख, र नेको इन्स्योरेन्समा १ अर्ब १६ करोड ६८ लाख रुपैयाँ बराबरको दावी परेको छ। यी कम्पनीहरूले क्रमशः ५५ करोड ४४ लाख, ६६ करोड २६ लाख, ८ करोड ७४ लाख, र १९ करोड ३९ लाख रुपैयाँ भुक्तानी गरेका छन्।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स मा ९७ करोड १६ लाख रुपैयाँ बराबरको दावी परेकोमा कम्पनीले २७ करोड ४३ लाख रुपैयाँ भुक्तानी दिएको जनाएको छ।
सानिमा जिआइसी, युनाइटेड अजोड, एनएलजी, नेपाल इन्स्योरेन्स, प्रोटेक्टिभ, ट्रस्ट, नेपाल माइक्रो, र स्टार माइक्रो इन्स्योरेन्सले सानो मात्रामा भुक्तानी दिएका छन्। तर, राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्स ले हालसम्म एक रुपैयाँ पनि भुक्तानी नगरेको प्राधिकरणले जनाएको छ।
राष्ट्रिय बीमा कम्पनीमा ५८ करोड ६९ लाख रुपैयाँ बराबरका २४७ दावी दर्ता भएका छन् भने नेशनल इन्स्योरेन्समा ८ करोड ६३ लाख रुपैयाँ बराबरका २५ दावी दर्ता भएका छन्।
