घोराही र कसमस सिमेन्टले पनि पहिलो किस्ता बुझाए, बक्यौता घट्दै

  • Clock icon
    २०८२ कार्तिक २७, बिहीबार

डेडिकेटेड तथा ट्रंक लाइन उपयोग बापतको बक्यौता रकम भुक्तानी अभियान अन्तर्गत थप दुई सिमेन्ट उद्योगले पहिलो किस्ता बुझाएका छन्। नेपाल विद्युत प्राधिकरणका अनुसार घोराही सिमेन्ट र कसमस सिमेन्ट ले लोडसेडिङको समयमा उपभोग गरिएको प्रिमियम महसुलको बक्यौता बापत पहिलो किस्ता तिरेका हुन्।

प्राधिकरणका अनुसार घोराही सिमेन्टले १ करोड ८१ लाख रुपैयाँ र कसमस सिमेन्टले ३५ लाख रुपैयाँ बुझाएका छन्। यससँगै अब घोराही सिमेन्टको बाँकी बक्यौता रकम ५० करोड ८५ लाख रुपैयाँ र कसमस सिमेन्टको ९ करोड ७७ लाख रुपैयाँ रहेको छ।

प्राधिकरणले लोडसेडिङ अवधिमा उद्योगहरूले डेडिकेटेड लाइनमार्फत निरन्तर बिजुली उपयोग गरे पनि त्यसबापतको प्रिमियम महसुल लामो समयदेखि नतिरेको भन्दै किस्ताबन्दीमा भुक्तानी गर्न आग्रह गरेको थियो।

हालसम्म देशभरका १७ वटा उद्योगले पहिलो किस्ता भुक्तानी सम्पन्न गरिसकेका छन्। प्राधिकरणका अनुसार बक्यौता भुक्तानी सुरु गरेका उद्योगहरूमा विद्युत आपूर्ति पुनः सुचारु गरिएको छ।

यसअघि पनि दर्जनौं ठूला उद्योगहरूले किस्ताबन्दीमा रकम बुझाउँदै आएकाले बाँकी उद्योगहरूलाई पनि शीघ्र भुक्तानी गर्न प्राधिकरणले पुनः अनुरोध गरेको छ।

  • Clock icon
    २०८२ कार्तिक २७, बिहीबार