एनआईसी एशियाको नयाँ मोड : खुद्राबाट कर्पोरेटतर्फ पुनः फिर्ता

  • Clock icon
    २०८२ कार्तिक २७, बिहीबार

वित्तीय हालतका आधारमा पछिल्लो समय कमजोर वाणिज्य बैंकका रूपमा पहिचान बनाएको एनआईसी एशिया बैंक अब आफ्नो लगानी नीति फेरि बदल्न लागेको छ। केही वर्षअघि खुद्रा बैंकिङ (Retail Banking) मा मात्रै केन्द्रित भएर सबै कर्पोरेट कर्जा बन्द गरेको यो बैंक अब पुनः कर्पोरेट र निर्माण क्षेत्रतर्फ फर्कने तयारीमा रहेको छ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्य ले बैंकको नयाँ रणनीति अन्तर्गत लगानी र कर्जा नीति फेरबदल गरिने बताएका छन्। उनले अर्थपथसँग कुरा गर्दै भने, “म आठ वर्षपछि बैंकमा फर्किएको हुँ। अब हामीले कर्जा नीति बदल्दै कर्पोरेट र कन्स्ट्रक्सन क्षेत्रमा पनि सन्तुलित रूपमा अघि बढ्नेछौं।”

कोभिड–१९ महामारीपछि एनआईसी एशियाले ठूला कर्पोरेट ऋणीहरूलाई ऋण फिर्ता गर्न आग्रह गर्दै खुद्रा बजारमा मात्र ध्यान दिएको थियो। त्यसपछि बैंकले तीव्र रूपमा शाखा विस्तार गर्दै साना तथा मध्यम वर्गका ग्राहकहरूलाई उपभोग र उत्पादन दुवैका लागि सानो रकमका कर्जा वितरण गर्न थालेको थियो।

तत्कालीन गभर्नर चिरञ्जीवी नेपाल द्वारा विकास बैंकहरूको पूँजी वृद्धि योजना अघि सारिएपछि धेरै विकास बैंकहरू विलय भए, र त्यसपछिको खाली स्थान एनआईसी एशियाले खुद्रा कर्जामार्फत भरिदिएको थियो। यस नीतिले केही वर्षसम्म बैंकलाई अस्वाभाविक रूपमा बढाएको थियो।

तर पछिल्ला वर्षहरूमा युवा पलायन, उपभोग घट्ने प्रवृत्ति, साना व्यवसायहरू बन्द हुने, र धितोको बिक्री रोकिने समस्याले खुद्रा कर्जा मोडेलमा चुनौती ल्यायो। जग्गा र सेयर बजार खुम्चिँदा बैंकको खुद्रा रणनीति अप्रभावकारी बन्न पुग्यो, जसले गर्दा बैंकको समग्र वित्तीय अवस्था कमजोर देखिन थाल्यो।

यही कारणले दीर्घकालीन सीईओ रोशन न्यौपानेले पद त्याग गरेपछि नबिल बैंकका डेपुटी सीईओ रहिसकेका सुजित शाक्य लाई नयाँ जिम्मेवारी दिइएको हो। शाक्यले भनेका छन्, “अब हामी पुनः कर्पोरेटमा जानेछौं र निर्माण क्षेत्रमा पनि लगानी विस्तार गर्नेछौं।”

तर उनी यसपटक अघिल्ला गल्ती दोहोर्याउन नचाहने बताउँछन्। उनका अनुसार ठूला कर्पोरेट समूहहरूले झट्का सहने क्षमता राख्छन्, किनकि उनीहरूसँग विविध कारोबार स्रोत हुन्छन्। “सानातिना ऋणीहरू सानो समस्या परे पनि तिर्न नसक्ने अवस्थामा पुग्छन्, तर ठूला कर्पोरेटमा यस्तो जोखिम कम हुन्छ,” शाक्यको भनाइ छ।

कोभिडपछि नेपाली कर्पोरेट जगत दुई खेमामा बाँडिएको थियो — विशाल ग्रुप र आईएमई ग्रुप मुख्य नेतृत्‍वमा। त्यस समयमा विशाल ग्रुपसँग जोडिएका व्यवसायमा जोखिम देखेपछि एनआईसीले बाँकी कर्पोरेट कारोबार सीमित गरेको थियो। तर अहिले शाक्यले त्यो नीतिलाई पुनर्विचार गर्दै “सन्तुलित र स्थायी वृद्धि” को बाटो रोज्ने बताएका छन्।

उनले थपे, “ठूला व्यवसायीहरू पहिले तिमीहरूले हामीलाई निकालेको थियौ भन्छन्। तर म उनीहरूको विश्वास पुनः जित्नेछु र बैंकमा सुधारको सन्देश पुर्‍याउनेछु।”

नयाँ सीईओको आगमनसँगै एनआईसी एशिया अब पुनः रणनीतिक पुनर्गठनको चरणमा प्रवेश गरेको छ, जसले बैंकलाई दीर्घकालीन स्थायित्व र सन्तुलित वृद्धि तर्फ डोर्‍याउने अपेक्षा गरिएको छ।

  • Clock icon
    २०८२ कार्तिक २७, बिहीबार