बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)का अध्यक्ष उपेन्द्र पौड्यालले बैंकहरुलाई हकप्रद शेयर निष्काशनको अनुमति दिन नीतिनिर्मातासमक्ष माग गरेका छन्। सिबिफिनको छैठौं वार्षिक साधारण सभामा बोल्दै उनले बदलिँदो आर्थिक परिस्थितिले बैंकिङ क्षेत्रलाई नयाँ पूँजी विकल्पको आवश्यकता भएको स्पष्ट पारे।
पौड्यालका अनुसार हाल नाफा तथा सम्पत्ति गुणस्तरमा अनिश्चितता बढ्दो छ, जसका कारण बैंकहरू पुनर्पुँजीकरणका प्रभावकारी उपायहरूको खोजीमा छन्। यस्तो अवस्थामा हकप्रद शेयर, मिश्रित पूँजी उपकरण (Hybrid Instruments) जस्ता वैकल्पिक स्रोत खोलिनु आवश्यक रहेको उनको भनाइ थियो। उनका अनुसार यसले बैंकिङ क्षेत्रको पूँजी आधार मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
उनले अन्तर्राष्ट्रिय लगानीकर्ता तथा गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको बैंक तथा वित्तीय संस्थाहरूको इक्विटीमा लगानी गर्न अनुमति र प्रोत्साहन दिने नीतिगत व्यवस्था आवश्यक रहेको पनि बताए। यसले दीर्घकालीन पूँजी प्रवाह बढाउने मात्र होइन, विदेशी लगानी भित्र्याउन पनि ठूलो मद्दत पुग्ने उनले उल्लेख गरे।
पौड्यालले पुँजी पर्याप्तता सम्बन्धी नीति (Capital Adequacy Norms) पनि वर्तमान आर्थिक यथार्थसंग मेल खाने गरी अद्यावधिक गर्नुपर्नेमा जोड दिए। बैंकहरूको दीर्घकालीन स्थायित्वका लागि पूँजी संरचना सुदृढ बनाउनु अनिवार्य रहेको उनको निष्कर्ष थियो।
