‘सन्तुष्टिकरणको युग’ : बिहार विजयपछि मोदीको कडा प्रहार

  • Clock icon
    २०८२ कार्तिक २९, शनिबार

बिहार विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीएले प्रचण्ड बहुमत हासिल गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देश अब “साँचो सामाजिक न्याय” को पक्षमा मतदान गर्न थालेको बताएका छन्। उनका अनुसार अहिलेको मतदाताले ‘तुष्टिकरण’ होइन, ‘सन्तुष्टिकरण’ चाहन्छ — समान अवसर, सम्मान र बराबरीसहितको समाज।

दिल्लीस्थित भाजपा मुख्यालयमा स्वागत पाएपछि मोदीले भने, “अब देशले विकास मात्रै चाहन्छ। प्रत्येक परिवारलाई अवसर, सम्मान र समान अधिकार दिने सामाजिक न्यायको यो नयाँ युग हो—जहाँ तुष्टिकरणको कुनै स्थान छैन।”

निर्वाचन आयोगका अनुसार एनडीएले २०२ सिट जितेर १२२ को बहुमतभन्दा निकै अघि बढेको छ। भाजपा ८९, जेडीयू ८५, एलजेपी (आरभी) १९, आरएलएम ४ र एचएएम ५ सिटमा विजयी भए भने महागठबन्धन ३३ सिटमै सीमित रह्यो।

भाषणको सुरुमा मोदीले परम्परागत ‘गम्छा’ लहराउँदै “जय छठी मैया… बिहारले कमाल गरिदियो” भने। उनले महिलाहरू र युवालाई ‘नयाँ सकारात्मक एमवाई सूत्र’ को आधार भने— जुनले ‘जंगलराज शैली’ का पुराना साम्प्रदायिक एमवाई (मुस्लिम–यादव) राजनीति भत्काएको दाबी गरे।

मोदीले विपक्षी दल रजदमाथि कडा आक्रमण गर्दै “कट्टा सरकार अब कहिल्यै फर्कँदैन” भने। कांग्रेसमाथि पनि कठोर टिप्पणी गर्दै उनले उक्त दललाई “एमएमसी— मुस्लिम लीग माओवादी कांग्रेस” को नाम दिए। कांग्रेसभित्रै पनि विभाजन हुने सम्भावना रहेको आरोप उनले लगाए।

छठ पर्वलाई युनेस्को विरासत सूचीमा राख्न सरकारले अघि सारेको प्रयास उल्लेख गर्दै उनले विपक्षी दलले छठ पर्वको अवहेलना गरेको दाबी गरे।

मोदीले बिहारको ऐतिहासिक ६७.१३ प्रतिशत मतदाता सहभागितालाई अभूतपूर्व भने। एक समय नक्सली हिंसाले ग्रस्त बिहारमा अहिले शान्तिपूर्ण मतदान हुनु ठूलो उपलब्धि भएको बताए।

उनले भने, “यो परिणाम बिहारको स्वर्णिम २५ वर्षको यात्राको सुरुआत हो। उद्योग, लगानी, रोजगारी र पर्यटन—सबैमा बिहार अब नयाँ उचाइमा पुग्नेछ।” वक्तव्यको अन्त्य “वन्दे मातरम्” अनि “भारत माता की जय” का नारासँग भयो।

  • Clock icon
    २०८२ कार्तिक २९, शनिबार