प्रधानमन्त्री सुशिला कार्कीले नेपालले अष्ट्रेलियाको मित्रता, दीगो विकास सहयोग र लोकतान्त्रिक तथा समावेशी रुपान्तरणमा अष्ट्रेलियाको सैद्धान्तिक समर्थनलाई उच्च मूल्य दिएको बताएकी छन्।
शनिबार अष्ट्रेलियाको दूतावासले नेपाल–अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको विशेष स्वागत समारोहमा भाग लिँदै प्रधानमन्त्री कार्कीले दुई देशबीचको साझेदारी शिक्षा, व्यापार, विकास र संस्कृति जस्ता महत्वपूर्ण क्षेत्रमा विस्तार भएको स्मरण गराइन्।
सो अवसरमा उनले “६५ वर्ष सँगै” शीर्षकको स्मरण पुस्तिका पनि सार्वजनिक गरिन्। यो पुस्तकले नेपाल–अष्ट्रेलियाबीचको जनस्तरको सम्बन्ध, समयरेखा र विविधता उजागर गरेको छ।
१९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि अष्ट्रेलियामा नेपाली प्रवासी समुदाय तीव्र रूपमा विस्तार भएको छ। यसले जनस्तरको सम्बन्ध र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाएको छ। आज नेपालीहरूले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा सक्रिय योगदान दिँदै आफ्नो मातृभूमिसँग गहिरो सम्बन्ध कायम राखेका छन्।
नेपाल र अष्ट्रेलिया द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय फोराममा नजिकबाट सहयोग गर्दै आएका छन्। संयुक्त राष्ट्रसंघमा उनीहरू दिगो विकास, जलवायु कार्य, लैंगिक समानता र शान्तिरक्षामा साझा एजेन्डा राखेर वैश्विक स्थिरता र समृद्धिमा योगदान पुर्याइरहेका छन्।
दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “जनस्तरको बढ्दो सम्बन्ध, सार्वभौमिकताको सम्मान र लोकतान्त्रिक मूल्यको प्रवर्द्धनमार्फत नेपाल–अष्ट्रेलिया सम्बन्ध लगातार प्रगति गर्दैछ।”
