प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीले नाफा र अन्य वित्तीय सूचकमा सकारात्मक प्रगति गरेको देखिएको छ।
कम्पनीले चालु आवको तीन महिनामा ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको छ, जुन गत आवको सोही अवधिको तुलनामा १२.७२ प्रतिशत बढी हो। गत आवको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ६० लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो।
खुद बीमाशुल्कमा पनि वृद्धि देखिएको छ। गत आवको पहिलो त्रैमाससम्म ११ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आवमा यो रकम १२ करोड ७ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको कुल दाबी भुक्तानी १३.५ प्रतिशतले बढेर १० करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा यो रकम ९ करोड ४७ लाख रुपैयाँ रहेको थियो।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड, महाविपत्ति कोष १० करोड ३४ लाख र जगेडा कोष २४ करोड ९२ लाख रुपैयाँ पुगेको छ। असोज मसान्तसम्म कम्पनीको प्रति शेयर आम्दानी १४.८५ रुपैयाँ र प्रति शेयर नेटवर्थ २०२.२७ रुपैयाँ कायम भएको छ।
