नेपाल ल्युब आयलको दोहोरो अंकमा उकासो, वार्षिक कारोबार डेढ अर्ब नाघ्यो

नेपाल ल्युब आयल लिमिटेडले पछिल्लो वर्ष आफ्नो व्यापारिक गतिविधिमा उल्लेखनीय वृद्धि गर्दै दोहोरो अंकको विकास दर हासिल गरेको छ। सीजी होल्डिङ्स अन्तर्गत सञ्चालित यस कम्पनीले सन् २०२५ मा कुल १ अर्ब ३५ करोड ३० लाख रुपैयाँको कारोबार गर्दै इतिहासकै उच्च व्यापारिक स्तरमा पुगेको छ।

यो कारोबार रकम गत वर्ष सन् २०२४ को तुलनामा १५.१५ प्रतिशतले बढी हो। कम्पनीले २०२४ मा १ अर्ब १७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो। त्यस्तै, सन् २०२३ मा ९२ करोड ७० लाख रुपैयाँ कारोबार गरेको कम्पनीले तीन वर्षयता निरन्तर उकासिएको व्यापारिक ग्राफ कायम राख्न सफल भएको छ।

व्यापार विस्तारसँगै कम्पनीको नाफामा पनि सुधार आएको छ। सन् २०२५ मा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। उत्पादन तथा अटोमोटिभ लुब्रिक्यान्ट, औद्योगिक लुब्रिक्यान्ट र ट्रान्सफर्मर आयलको निरन्तर बढ्दो मागले कारोबार विस्तारमा महत्वपूर्ण भूमिका खेलेको कम्पनीको निष्कर्ष छ।

नेपाल ल्युब आयलले गोल्फ आयल इन्टरनेशनलको लाइसेन्सअन्तर्गत ‘गल्फ’ ब्रान्डका लुब्रिक्यान्टहरूको उत्पादन तथा बिक्री गर्दै आएको छ। कम्पनीले ५१ करोड ८७ लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ, जसमा ३७ लाख रुपैयाँ दीर्घकालीन कर्जा तथा ५१ करोड ५० लाख रुपैयाँ अल्पकालीन कर्जा समावेश छन्।

सन् १९८४ मा स्थापना भएको कम्पनीले नेपालमा लुब्रिक्यान्ट उद्योगमा सबल पहिचान बनाउन सफल भएको छ। दक्ष नेतृत्व र अनुभवी व्यवस्थापनकै कारण व्यापारमा निरन्तर उकासो आएको कम्पनीको दाबी छ। हाल कम्पनीको नेतृत्व अरुण कुमार चौधरीले गरिरहेका छन्, जो सीजी होल्डिङ्स समूहका पनि अध्यक्ष हुन्।