बैंकमा पूँजी जमेको बेला व्यवसायी उत्साह घट्दा आर्थिक गतिविधि सुस्त

नेपालमा लामो समयको आर्थिक सुस्तता, उपभोगमा आएको कमी र कारोबार घाटाले साना तथा मध्यमस्तरका व्यवसायीलाई व्यवसाय छाडेर बाहिरिन बाध्य बनाएको छ। केही बैंकरले यस विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै व्यवसाय पुनःउत्थानका उपाय आवश्यक रहेको बताएका छन्।

व्यवसायी बाहिरिँदा बैंक ऋण जोखिम

व्यवसायी देश छाड्दा बैंकको ऋण उठ्ने सम्भावना कमजोर हुँदै गएको बैंकरको बुझाइ छ। एक बैंकर भन्छन्, “धितो त लिएका छौँ, तर मान्छे र व्यवसाय नहुँदा धितो बेच्नु पनि सम्भव छैन।”

समस्या सुरु भयो आयात प्रतिबन्धबाट

साढे तीन वर्षअघि सरकारले भुक्तानी सन्तुलनामा चाप परेको भन्दै आयातमा रोक लगाउँदा समस्या सुरु भएको थियो। २०७९ वैशाख १३ मा पहिलो आयात निरुत्साही कदम चालिएको र मंसिर मसान्तसम्म कायम रहँदा धेरै व्यवसाय बन्द भए।

साथै, लघुवित्त, सहकारी संस्था, सेयर बजारको ओरालो र घरजग्गाको मूल्य गिरावटले अर्थतन्त्रमा थप दबाब सिर्जना गर्यो।

युवा बहिर्गमन र उपभोग घट्यो

जापान, अस्ट्रेलिया, क्यानडा, पोर्चुगल, स्पेन र अमेरिका जस्ता मुलुकले नेपाली विद्यार्थी भित्र्याएपछि युवा बहिर्गमन तेज भयो। धेरैले स्थायी बसोबासका लागि सम्पत्ति बिक्री गर्दै देश छाडे। परिणामस्वरूप उपभोगमा संकुचन आयो—कफिसप, मासु, मदिरा, लत्ताकपडा, तेल र चामलको बिक्री घट्यो।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष पाण्डे भन्छन्, “उधारो दिन पनि मान्छेको उमेर हेर्नुपर्ने अवस्था छ। युवा व्यवसायीले पैसा तिर्नुभन्दा बाहिरिसकेका हुन्छन्।”

राजनीतिक अस्थिरता र आन्दोलनले मनोबल कमजोर

जेनजी आन्दोलनका दौरान व्यावसायिक प्रतिष्ठान र व्यवसायीका कार्यालयमा आक्रमण हुँदा उद्यमीको मनोबल अझ कमजोर भएको छ।

बैंकरको सुझाव: सस्तो ब्याजमा पुन: ऋण

हाल बैंकमा पैसा पर्याप्त भए पनि ऋण लिएर लगानी गर्न कोही तयार छैन। बैंकहरूको औसत आधारदर ५.७२ प्रतिशत छ। बैंकरहरूको विचारमा, यदि राष्ट्र बैंकले ३ प्रतिशत जस्तो सहुलियत ब्याजमा ऋणीलाई पुन: ऋण उपलब्ध गराएमा व्यवसायीको उत्साह बढ्नेछ।