जापानले चीनस्थित आफ्ना नागरिकलाई सुरक्षा सचेतना, तनाव व्यवस्थापन प्रयास जारी

जापानले चीनमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षा उपाय कडाइका साथ अपनाउन र भीडभाड भएका स्थानबाट टाढा रहन सचेत गराएको छ। ताइवानसँग सम्बन्धित विवादका बीच जापानी सरकारले आफ्नो नागरिकको सुरक्षा सुनिश्चित गर्न यस्तो कदम उठाएको हो।

प्रधानमन्त्रीको चेतावनी र कूटनीतिक तनाव

जापानी प्रधानमन्त्री साने ताकाइचीले चीनको सम्भावित आक्रमणले जापानको अस्तित्वमा खतरा ल्याए सैन्य प्रतिक्रिया आवश्यक पर्न सक्ने विषयमा संसदीय सदस्यलाई सचेत गराएकी छिन्। यस कदमले वर्षौंयताकै गम्भीर कूटनीतिक तनाव उत्पन्न गरेको विश्लेषकहरूले बताएका छन्।

मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले देश तथा क्षेत्रको सुरक्षा अवस्था र राजनीतिक–सामाजिक परिस्थितिको मूल्यांकनका आधारमा सुरक्षा सचेतना जारी गरिएको उल्लेख गरेका छन्।

चीनस्थित जापानी नागरिकका लागि सुरक्षा सल्लाह

चीनस्थित जापानी दूतावासले स्थानीय चलन–चल्तीको सम्मान, चिनियाँ नागरिकसँगको व्यवहारमा सावधानी, वरपरका गतिविधिबारे सतर्क रहन, एक्लै यात्रा नगर्न र बालबालिकासहित हिँड्दा विशेष सावधानी अपनाउन नागरिकलाई निर्देशन दिएको छ। शंका लाग्ने व्यक्ति वा समूह देखिएमा त्यहाँबाट तुरुन्त टाढा रहन सल्लाह दिइएको छ।

सांस्कृतिक कार्यक्रम प्रभावित

चिनियाँ राज्य प्रसारक सिसिटिभीका अनुसार बढ्दो विवाद र बिग्रँदो धारणा मध्यनजर गर्दै चीनमा कम्तीमा दुई जापानी फिल्मको प्रदर्शन निलम्बन गरिएको छ।

  • एनिमेटेड फिल्म: “क्रेयोन शिन–चान द मूभिः सुपर हट! स्कोर्चिङ कसुकाबे डान्सर्स“

  • मंगा आधारित: “सेल्स एट वर्क!“

सागर क्षेत्र र कूटनीतिक घटना

चीनले ताइवानलाई आफ्नो हिस्सा मान्ने दाबी गर्दै आवश्यक परे बल प्रयोग गर्न सक्ने स्पष्ट पार्दा जापान–चीन सम्बन्ध तनावपूर्ण बनेको छ। ताइवान जापानी भू–भागबाट करिब ११० किलोमिटर टाढा रहेको छ, जस वरिपरिका जलमार्ग जापानका लागि महत्वपूर्ण छन्।

गत आइतबार चिनियाँ तटरक्षक जहाजहरूले जापानद्वारा नियन्त्रित पूर्वी चीन सागरमा गुज्रिएपछि जापानी तटरक्षकले ती जहाजहरूलाई रोक्दै धपाएको थियो। जापान–अमेरिका सुरक्षा सन्धिअन्तर्गत यी टापुमा आक्रमण भएमा अमेरिकाले पनि रक्षा गर्ने व्यवस्था रहेको छ।

व्यापारमा तत्काल प्रभाव नभएको

जापानका व्यापार मन्त्री रियोसेई अकाजावाका अनुसार चीनले दुर्लभ खनिज र अन्य सामग्रीमा निर्यात नियन्त्रणमा कुनै विशेष परिवर्तन गरेको छैन। जापान इलेक्ट्रोनिक्स र गाडी उद्योगका लागि यी खनिजमा अत्यधिक निर्भर छ।

सोमबार राति जापानका तीन प्रमुख व्यापार महासंघका प्रतिनिधिले प्रधानमन्त्रीसँग भेट गरी कूटनीतिक तनाव समाधानका लागि संवाद सुरु गर्न आग्रह गरेका छन्। जापानले सुरक्षा सचेतना जारी गर्दै नागरिकको सुरक्षामा प्राथमिकता राखेको र कूटनीतिक माध्यमबाट तनाव व्यवस्थापन गर्ने प्रयास जारी राखेको छ।