राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले आफ्नो राइडर छनोट र तालिम प्रक्रियालाई अझ सुदृढ बनाएको छ। अब राइडर बन्न चाहने व्यक्तिले अनलाइन प्रशिक्षण र परीक्षा अनिवार्य रुपमा पूरा गर्नुपर्नेछ।
राइडर बन्ने नयाँ प्रक्रिया
पठाओका निर्देशक सुरक्षा हमालका अनुसार राइडर बन्नका लागि निम्न शर्तहरू अनिवार्य छन्–
-
ब्लूबुक, सवारी चालक अनुमति पत्र (लाइसेन्स) र तेस्रो पक्ष बीमा हुनु।
-
एपमा रहेको लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) मार्फत अनलाइन प्रशिक्षण।
-
प्रशिक्षणपछि लिइने परीक्षामा कम्तीमा ८० प्रतिशत अंक प्राप्त गर्नु।
-
असफल भएमा भोलिपल्ट पुनः प्रशिक्षण लिएर पुनः परीक्षा दिन सकिनेछ।
-
इच्छुकले पठाओ ड्राइभ एप डाउनलोड गरी अनलाइनमार्फत दर्ता प्रक्रिया सुरु गर्न सक्नेछन्। आवश्यक कागजातहरू अपलोड गरेपछि पठाओ कार्यालयले जाँच गरी २४ घण्टाभित्र खाता प्रमाणीकरण गर्नेछ।
परीक्षा र सम्झौता प्रक्रिया
-
प्रशिक्षण पूरा भएपछि पठाओ एपबाटै परीक्षा दिन सकिनेछ।
-
परीक्षा ८० प्रतिशत वा सोभन्दा बढी अंक ल्याएपछि एसएमएस मार्फत सम्झौता पत्र पठाइनेछ।
-
सम्झौता पत्रमा हस्ताक्षर गरेपछि आधिकारिक रूपमा पठाओ चालक (राइडर) बन्न सकिनेछ।
सुरक्षा र आम्दानी
हमालले भनिन्, “सुरक्षा हाम्रो सेवाको मेरुदण्ड हो। ८० प्रतिशत अंक ल्याएर पास हुने यो प्रणालीले ‘सुरक्षा र जिम्मेवार सेवा’को मानकलाई अझ मजबुत बनाउनेछ। यसले ग्राहकलाई सुरक्षित, भरपर्दो र पेशागत अनुभव सुनिश्चित गर्नेछ।”
कम्पनीको तथ्यांङ्क अनुसार, परीक्षामा करिब ८५ प्रतिशत सहभागी पहिलो प्रयासमै उत्तीर्ण हुने गरेका छन्। सक्रिय पठाओ राइडरहरूले मासिक ४०–५० हजार रुपैयाँसम्मको आम्दानी गर्ने कम्पनीले जनाएको छ।
यो प्रणालीले पठाओ नेपालमा राइडर छनोटलाई पारदर्शी, डिजिटल र सुरक्षित बनाउँदै सेवा गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
