चीनमार्ग खुलाउन एयर इन्डियाको दबाब बढ्यो, वित्तीय संकट झन् गहिरिंदै

पाकिस्तानले भारतीय उडानका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेपछि तीव्र वित्तीय दबाबमा परिरहेको एयर इन्डियाले अब चीनको सिन्ज्याङ हवाई क्षेत्रमा मार्ग खोलिदिन भारत सरकारलाई कूटनीतिक पहल गर्न दबाब बढाएको छ। रायटर्सका अनुसार पाकिस्तानको प्रतिबन्धले ईन्धन खर्च बढ्दै गएपछि बोझ कम गर्न एयर इन्डिया चीनमार्गलाई वैकल्पिक उपायका रूपमा देखिरहेको छ।

एयर इन्डियाको आर्थिक सङ्कट त्यसभन्दा अघि नै गहिरिँदो थियो। गत जुनमा अहमदाबाद–लण्डन हुँदै गएको एआई–१७१ दुर्घटनामा २६० जनाको मृत्यु हुँदा कम्पनीलाई ठूलो धक्का प¥यो। सुरक्षाका कारण उडान कटौती गरेपछि अन्तर्राष्ट्रिय सञ्जाल र विश्वास पुनःस्थापित गर्ने दबाब बढेको अवस्थामा पाकिस्तानी हवाई मार्ग बन्द भएपछि स्थिति झनै जटिल भएको हो।

पाकिस्तानी प्रतिबन्धको ठूलो असर

अप्रिल अन्त्यतिर भारत–पाकिस्तान कूटनीतिक तनाव चर्किएपछि पाकिस्तानले भारतीय उडानहरूलाई हवाई मार्ग बन्द गरिदिएको थियो। यसले एयर इन्डियाको ईन्धन खर्च २९ प्रतिशतसम्म बढाएको छ भने लामो दूरीका उडानको समय तीन घण्टासम्म लम्बिएको कम्पनीका आन्तरिक दस्तावेजमा उल्लेख छ। टाटा समूह र सिंगापुर एयरलाइन्सको स्वामित्वमा रहेको एयर इन्डियाले यस प्रतिबन्धका कारण करबाहेक नाफामा वार्षिक ४५५ मिलियन डलर बराबरको असर परेको अनुमान सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०२४/२५ मा मात्रै कम्पनी ४३९ मिलियन डलर घाटामा गएको थियो।

चीनमार्ग खोल्न दबाब

उइगुर स्वायत्त क्षेत्रका होटन, काश्गर र उरुम्ची विमानस्थललाई आपतकालीन ल्यान्डिङ र वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न भारतले चीनसँग कूटनीतिक पहल गर्नुपर्छ भनेर एयर इन्डियाले सरकारलाई आग्रह गर्दै आएको छ। यदि चीनमार्ग खुल्न सके अमेरिका, क्यानडा र युरोपतर्फका उडान छोटो हुने तथा न्यून क्षमतामा चलाइएका न्युयोर्क–दिल्ली र भ्यानकुभर–दिल्ली मार्गलाई पुनः १५ प्रतिशतले विस्तार गर्न सकिने एयर इन्डियाको मूल्यांकन छ। यसले साप्ताहिक करिब १.१३ मिलियन डलर घाटा न्यूनीकरण हुने अनुमान गरिएको छ।

तर अनुमति पाउने संभावना न्यून

एयर इन्डियाले चाहेको सिन्ज्याङ मार्ग अत्यन्त संवेदनशील सैन्य हवाई क्षेत्र मानिन्छ। यो क्षेत्र २० हजार फिटभन्दा अग्ला पर्वतहरूले घेरेको छ र डीकम्प्रेशनजस्ता जोखिम उच्च हुने भएकाले अन्तर्राष्ट्रिय एयरलाइन्स प्रायः प्रयोग गर्न हिच्किचाउँछन्।

सबैभन्दा महत्वपूर्ण कुरा—यो मार्ग चिनियाँ जनमुक्ति सेनाको पश्चिमी थिएटर कमान्डअन्तर्गत पर्दछ जहाँ मिसाइल, ड्रोन तथा हवाई–रक्षा प्रणाली व्यापक रूपमा तैनाथ छन्। एयरनभ रडार तथ्यांक अनुसार गत १२ महिनामा होटन विमानस्थलमा कुनै पनि गैर–चिनियाँ उडान अवतरण वा प्रस्थान गरेको छैन। विश्लेषकहरूका अनुसार सुरक्षा, आपतकालीन पूर्वाधार अभाव तथा भूभागीय जटिलताका कारण चीनले अनुमति दिने सम्भावना न्यून छ।

वित्तीय संकटमा डुबिरहेको एयर इन्डिया

हवाई क्षेत्र प्रतिबन्ध कहिले हट्ने निश्चित नभएकाले एयर इन्डियाले भारत सरकारसँग अस्थायी अनुदान मागिरहेको छ। साथै पुराना करसम्बन्धी मुद्दा समाधान गर्न पनि सरकारी हस्तक्षेप आवश्यक परेको छ। २०२२ मा टाटाले एयर इन्डिया खरिद गर्दा पुराना दाबीहरूबाट कम्पनीलाई सुरक्षित राख्ने भारत सरकारको वाचा थियो। तर हाल पुनः ७२५ मिलियन डलर बराबरका पुराना कर दाबीसम्बन्धी सूचनाहरू आउन थालेपछि कम्पनी कानुनी तथा प्रतिष्ठागत जोखिममा परेको छ।

पाकिस्तानमार्ग खुल्ने वा चीनमार्ग उपलब्ध हुने सम्भावना न्यून बन्दै गएकाले एयर इन्डियाको वित्तीय संकट निकट भविष्यमा झन् गम्भीर हुने संकेत विश्लेषकहरूले दिएका छन्।