सीमामा कडाइपछि अण्डा बजार सुदृढ, किसानले पाए राहत

भारत–नेपाल सीमा नाकामा कडाइ बढेपछि अवैध रूपमा भित्रिने अण्डा रोकिएको छ, जसको प्रत्यक्ष लाभ नेपाली कुखुरापालक किसानले पाउन थालेका छन्। अवैध प्रतिस्पर्धा घटेपछि किसानले उत्पादन लागत बराबरको मूल्य पाउने अवस्था सिर्जना भएको छ।

नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। नवप्रकाशित दरअनुसार—

  • एक्सएल साइज अण्डा: प्रति क्रेट ५२० रुपैयाँ

  • ठूलो साइज: प्रति क्रेट ५०५ रुपैयाँ

  • मिडियम साइज: प्रति क्रेट ४९० रुपैयाँ

अघिल्लो सूचीबाट प्रति क्रेट ५५ रुपैयाँले मूल्य वृद्धि भएको संघले जनाएको छ।

संघका अनुसार भारतमा निर्वाचनका कारण सीमा कडाइ भएकाे, त्यहाँ अण्डाको खपत बढेको, र मूल्य वृद्धि भएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने क्रम लगभग रोकिएको हो। भारतमा हाल एकवटा अण्डा करीब भारतीय रुपैयाँ ७.८० मा बिक्री भइरहेको छ।

नेपालमा एक अण्डाको उत्पादन लागत करिब १६.५७ रुपैयाँ पर्ने भएकाले, अहिलेको नयाँ दरले किसानलाई धेरै समयपछि लागत बराबरको आम्दानी दिलाउन थालेको संघको दाबी छ।

जाडो मौसम सुरु भएसँगै अण्डाको माग प्राकृतिक रूपमा बढ्ने भएकाले उत्पादन र बजार दुवै सन्तुलित रहने अपेक्षा गरिएको छ। हाल देशभर दैनिक करीब ४० लाख अण्डा उत्पादन हुने अनुमान छ।