गरिमा रोड रेस २०८२ सफल, स्वास्थ्य र उत्साहको पर्व

“स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नारालाई आत्मसाथ गर्दै गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको गरिमा रोड रेस २०८२ आज मंसिर ६ गते शनिबार सफलतापूर्वक सम्पन्न भएको छ।

१८औं वार्षिकोत्सवदेखि सुरु भएको यो रोड रेसको दोस्रो संस्करणमा खुला, कर्पोरेट र भेट्रान गरी महिला र पुरुषका लागि कुल ६ प्रतियोगिता आयोजना गरिएको थियो।

खुला तर्फ १० कि.मी. दुरीको रेस विकास बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौँदेखि सुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ अगाडि पुगेर पुनः बालुवाटारमा समापन भएको थियो। कर्पोरेट र भेट्रान तर्फ ५ कि.मी. दुरीको रेस पनि बालुवाटारबाट सुरु भई नारायणगोपालचोक हुँदै न्यूरो अस्पताल, बाँसबारी अगाडि पुगेर पुनः बालुवाटारमा समापन भएको थियो।

यस प्रतियोगितामा १,००० भन्दा बढी धावकहरूको सहभागिता रहेको थियो। खुला विधामा महिला तर्फ सन्तोषी श्रेष्ठले १० कि.मी. दुरी ३४ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे भने पुरुष तर्फ नेपाल आर्मीका राजन रोकायले १० कि.मी. दुरी २९ मिनेट १२ सेकेन्डमा पूरा गर्दै विजयी भए। नेपाल आर्मीका धावकहरूले खुला पुरुष तर्फ सबै र महिला तर्फ चार पुरस्कार जित्न सफल भएका थिए।

प्रतियोगितामा पुरस्कार वितरण यस प्रकार थियो:

  • खुला तर्फ: प्रथम ५० हजार, दोस्रो ३५ हजार, तेस्रो २० हजार, चौथो १५ हजार, पाँचौ १० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र।

  • कर्पोरेट र भेट्रान तर्फ ५ कि.मी.: प्रथम ३० हजार, दोस्रो २० हजार, तेस्रो १४ हजार, चौथो १० हजार, पाँचौ ७ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र।

कार्यक्रममा विकास बैंकका सञ्चालक, पूर्व सञ्चालक, शेयरधनी, विभिन्न संघसंस्था प्रतिनिधि, स्थानिय निकाय प्रतिनिधि, पत्रकार र कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो। बैंकका मुख्य कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए।

समापन समारोहमा बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले मानव स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएको भन्दै, आगामी वर्षहरूमा यस्ता कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। साथै, मंसीर ७ गते आईतबार, विकास बैंकले देशभर ८ स्थानमा बृहत रक्तदान कार्यक्रम र १९ स्थानमा सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गरेको छ।