बढ्यो जाडो, घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम-विवरण सहित

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सोमबारको तुलनामा आज मंगलबार घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको हो।

त्यसो त काठमाडौँ उपत्यकाका लागि यो न्यूनतम तापक्रम सोमबारको भन्दा कम मात्र नभई यो वर्षको अहिलेसम्मकै कम हो।
यसअघि उपत्यकामा सबैभन्दा कम न्यूनतम तापक्रम मंसिर ७ गते ७.८ डिग्री सेल्सियस थियो।

हिजो सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो।

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने लुम्बिनी प्रदेशका थोरै भूभागमा हुस्सु तथा तुवाँलो लागेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाई छ ।

यस्तै, राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।