सहकारी दर्ता अब स्वचालित, नियमनमा नयाँ गति

नेशनल कोअपरेटिभ्स रेगुलेटरी अथोरिटी (NCRA) ले सावन्ध–ऋणमुखी सहकारी दर्ताका लागि स्वचालित अनलाइन प्रणाली सार्वजनिक गरेको छ। बुधबार आयोजित कार्यक्रममार्फत् सहकारी दर्ता प्रक्रियालाई औपचारिक रूपमा डिजिटल बनाउँदै NCRA ले देशभरका सहकारीलाई एकीकृत प्रणालीमा ल्याउने लक्ष्यसहित नयाँ सफ्टवेयर सञ्चालनमा ल्याएको हो।

कार्यक्रममा NCRA का अध्यक्ष डा. खगराज शर्माले सहकारी संस्थाहरूले अब क्रेडिट इन्फर्मेशन सेन्टर (CIC) को सदस्य बन्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिए। यससँगै डिपोजिट एण्ड क्रेडिट प्रोटेक्शन फण्डमा समावेश हुन पनि सहज हुने उनकाे भनाइ थियो।

अध्यक्ष शर्माले सहकारी क्षेत्रमा देखिएका चुनौती, विशेषगरी मनी लन्डरिङसम्बन्धी जोखिमप्रति सचेत रहँदै सहकारीहरूलाई व्यवस्थित प्रणालीमा ल्याउनु अत्यावश्यक रहेको बताए। उनले समस्या समाधानका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

नेशनल कोअपरेटिभ फेडेरेसनका उपाध्यक्ष डीबी बस्नेतले प्रणालीलाई सहज रूपमा सञ्चालन गर्न आग्रह गर्दै सहकारी दर्ता तथा कागजी प्रक्रिया सहज बनाउन NCRA का कर्मचारीले समन्वय र सहजीकरण गर्नुपर्ने अपेक्षा व्यक्त गरे।

नेपाल सेभिङ्स एण्ड क्रेडिट सेन्ट्रल कोअपरेटिभ एसोसिएसनका कोषाध्यक्ष दीपक थापाले सहकारीहरूलाई वित्तीय सहयोग र हिमाेती आवश्यक रहेको उल्लेख गर्दै NCRA ले ‘नियामक’ भन्दा पनि सहयोगी–सुविधादाताको भूमिकामा काम गर्नुपर्नेमा जोड दिए।

त्यसक्रममा, नेशनल कोअपरेटिभ बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले नयाँ प्रणालीले डेटा व्यवस्थापन, पारदर्शिता र मनी लन्डरिङ नियन्त्रणमा ठोस योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

सरकारले देशभर बचत–ऋण कारोबार गर्ने सहकारीहरूलाई नियमन, अनुगमन र सुपरिवेक्षण गर्नका लागि २०२५ जनवरीमा NCRA गठन गरेको थियो। नवनिर्मित अनलाइन दर्ता प्रणालीलाई सहकारी क्षेत्रलाई सुरक्षित, पारदर्शी र दिगो बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।