गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका क्षतिका लागि बीमा कम्पनीमा साढे २३ अर्ब रुपैयाँ बराबरको दावी परेको छ। नेपाल बीमा प्राधिकरणका पछिल्ला तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूमा कुल २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ बराबरको दाबी पेश भएको छ। अहिलेसम्म ३ हजार २५५ वटा दावी प्राधिकरणमा दर्ता भएका छन्।
हालसम्म बीमा कम्पनीहरूले अग्रिम भुक्तानीसहित ४ अर्ब २ करोड रुपैयाँ बीमितलाई भुक्तानी गरेका छन्, जसले कुल दावीको १७.१५ प्रतिशत पूरा भुक्तानी भएको देखाउँछ।
आन्दोलनका क्रममा ६९५ वटा घर तथा भवनमा क्षति पुगेको थियो। सोमा १९ अर्ब ३ करोड ४१ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ भने कम्पनीहरूले ३ अर्ब ९ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।
सवारी साधनमा पनि क्षति भएका बीमितले ८४ करोड ८५ लाख रुपैयाँ भुक्तानी पाइसकेका छन्। मोटर बीमातर्फ ३ अर्ब ४४ करोड १० लाख रुपैयाँ बराबरको २ हजार २९५ दावी पेश भएको थियो।
इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ ५५ करोड ४ लाख रुपैयाँ दाबी परेकोमा करिब ६ करोड ६९ लाख रुपैयाँ भुक्तानी भएको छ। यस्तै, परिवहन बीमातर्फ १२ दावीमा करिब ४८ लाख र अन्य बीमातर्फ ४४ दावीमा करिब ३९ लाख रुपैयाँ भुक्तानी भएको छ।
नेपाल पुनर्बीमा कम्पनीले पनि निर्जीवन बीमा कम्पनीहरूलाई करिब २ अर्ब ५१ करोड ७९ लाख अग्रिम भुक्तानीसहित दाबी गरेको छ। हाल २ हजार ८६० पुनर्बीमा दावीमा करिब १५ अर्ब ८१ करोड रुपैयाँ रकम रहेको अद्यावधिक तथ्याङ्कमा उल्लेख छ।
