चार महिनामै जीवन बीमा कारोबार बलियो उछाल, १६.५३% वृद्धि

देशको जीवन बीमा क्षेत्रमा चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा उल्लेखनीय वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार जीवन बीमा कारोबार दोहोरो अंकमा उक्लिएको छ भने कुल व्यापार ६२ अर्ब रुपैयाँ नाघेको छ।

साउनदेखि कात्तिक मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ६२ अर्ब २१ करोड ८४ लाख ५८ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्। यो रकम गत वर्षको सोही अवधिको ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ भन्दा १६.५३ प्रतिशत धेरै हो। यसरी, एक वर्षभित्रै बीमा बजारको आकार ८ अर्ब ८२ करोड २६ लाख रुपैयाँले बढेको देखिन्छ।

नयाँ व्यवसाय र नविकरण दुवैमा वृद्धि

समिक्षा अवधिमा कम्पनीहरूले नयाँ व्यवसायमार्फत १२ अर्ब ७२ करोड ३९ लाख रुपैयाँ भित्र्याएका छन्। त्यस्तै, नविकरण बिमा शुल्कमार्फत ४९ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ आर्जन गरिएको छ, जसले ग्राहकको विश्वास मजबुत हुँदै गएको संकेत गर्छ।

प्रमुख बीमा कम्पनीहरूको प्रदर्शन

लगातार बजारमा अग्रस्थानमा रहेको नेपाल लाइफ ले यस वर्ष पनि आफ्नो वर्चश्व कायम राख्दै १७ अर्ब ९२ लाख रुपैयाँ बराबरको व्यापार गरेपछि सूचीमा पहिलो स्थान सुरक्षित गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १०.३८% वृद्धि हो।

दोस्रो स्थानमा नेशनल लाइफ रहेको छ, जसको कारोबार १६.०९% बढेर ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ पुगेको छ। तेस्रोमा एलआइसी नेपाल परेको छ, जसको व्यापार ६.८१% वृद्धि हुँदै ६ अर्ब ४६ करोड ८९ लाख रुपैयाँ पुगेको छ। चौथो स्थानमा हिमालयन लाइफ रहँदै चार महिनामा ५ अर्ब ६४ करोड ७ लाख बराबरको बीमा शुल्क आर्जन गरेको छ।

सबैभन्दा तीव्र वृद्धि राष्ट्रिय जीवनमा

व्यापार वृद्धिदरका आधारमा राष्ट्रिय जीवन बीमा कम्पनी सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको कारोबार १८३.६६% ले उक्लिँदै ५ अर्ब ३ करोड ९३ लाख रुपैयाँ पुगेको छ। दोस्रो उच्च वृद्धि IME Life ले देखाएको छ, जसको व्यापार २६.६८% बढेर १ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ कायम भएको छ।

अन्य कम्पनीहरूको स्थिति

  • सिटिजन लाइफ: २१.४०% वृद्धि – २ अर्ब ६६ करोड ६४ लाख

  • रिलायवल नेपाल: १९.२५% – १ अर्ब ८५ करोड ८८ लाख

  • सूर्यज्योति लाइफ: ११.९७% – ३ अर्ब ६४ करोड ५ लाख

  • मेट लाइफ: ११.६८% – २ अर्ब ९ करोड ४१ लाख

  • प्रभू महालक्ष्मी लाइफ: १०.८३% – १ अर्ब ८० करोड ४३ लाख

  • सानिमा लाइफ: १०.७९% – १ अर्ब ३० करोड ६ लाख

  • एशियन लाइफ: ९.१७% – २ अर्ब ९९ करोड ५० लाख

  • सन नेपाल लाइफ: १ अर्ब ३० करोड ६ लाख व्यापार