सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कँडेलले देशको समग्र विकासका लागि अब साना–साना योजनाभन्दा ठूला पूर्वाधारमा प्राथमिकता दिन आवश्यक रहेको बताएका छन्। उनले हालसम्मको विकास “टुक्रे र अव्यवस्थित” भएको उल्लेख गर्दै अब यातायात, ऊर्जा, पर्यटन र उत्पादन क्षेत्रलाई लक्ष्य बनाएर दीर्घकालीन लगानीको आवश्यकता दोहो¥याए।
काठमाडौँको यातायात अव्यवस्थित, स्काइरेल जस्ता ठूला मोडल आवश्यक
उनीका अनुसार काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात अत्यन्त अव्यवस्थित छ। निजी सवारीसाधन लिएर निस्किँदा समयमै गन्तव्यमा पुग्न कठिनाइ हुने, पार्किङ व्यवस्था कमजोर हुने, अनि सार्वजनिक सवारी नै नियमित नहुनु मुख्य समस्या रहेको उनले बताए।
पठाओ, साझाजस्ता विकल्पमा निर्भर हुनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले यस्तो अवस्था समाधानका लागि न्यूनतममा स्काइरेल वा समानान्तर ठूला सार्वजनिक यातायात ढाँचा आवश्यक रहेको बताए। उनी भन्छन्, “सार्वजनिक यातायातमा ठूला लगानी नगरेसम्म काठमाडौँको समस्या समाधान हुँदैन।”
इलेक्ट्रिक मोडल र इन्धन खपत घटाउने उपाय
कँडेलले सार्वजनिक यातायातलाई इलेक्ट्रिक मोडलमा लैजान सकिए पेट्रोल–डिजेलको अत्यधिक उपभोग घट्ने र दीर्घकालीन रूपमा पुरानो प्रणाली स्वाभाविक रूपमा प्रतिस्थापित हुने उल्लेख गरे।
पूर्व–पश्चिम र उत्तर–दक्षिण प्रमुख मार्ग: ६–८ लेनमा उन्नयन आवश्यक
हालको सडक अवस्थालाई अत्यन्त कमजोर भन्दै उनले पूर्व–पश्चिम राजमार्ग र केही उत्तर–दक्षिण मार्गलाई प्राथमिकता दिई ६ लेन वा ८ लेन मा विस्तार गर्नु अपरिहार्य रहेको बताए। उनीका अनुसार काठमाडौँ–नवलपरासी वा पोखरा यात्रा चार घण्टा कि आठ घण्टा लाग्ने अनिश्चितता स्वयं विफल प्रणालीको परिचायक हो। वीरगन्जबाट सामान ल्याउँदा फास्ट ट्र्याक र नारायणघाट–हेटौंडा मार्गबाट आउने लागतमा पर्ने फरकले व्यवस्थापन सुधार आवश्यक रहेको उनले जिकिर गरे।
‘बैंकिङ प्रणालीमै ७–१० खरब रुपैयाँ चलायमान, ठूला परियोजनामा लगानी गरौँ’
कँडेलले अहिले बैंकिङ प्रणालीमा रहेका ८–१० खरब रुपैयाँ समुचित तरिकाले उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्न सकिए ठूलो आर्थिक परिवर्तन सम्भव हुने बताए।
उनको प्रस्ताव अनुसार—
-
सरकारले निश्चित ब्याजदरमा यस्तो रकम उठाउने,
-
१० वर्षभित्र ठूला परियोजनाका लागि डेडिकेटेड फण्ड बनाउने,
-
अनि दीर्घकालीन पूर्वाधार निर्माणमा लगानी गर्ने।
यसले पैसा देशमै घुम्ने, उद्योग–व्यवसायले बजार पाउने र अर्थतन्त्र सुदृढ बन्ने कँडेलको तर्क छ।
पर्यटन रणनीतिमा ‘नेचुरल ब्युटी’ केन्द्रमा, ५० प्रिमियम गन्तव्य विकासको सुझाव
लक्जरी पर्यटनमा नेपालले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै उनले नेपालको प्राकृतिक सौन्दर्य नै मुख्य बल भएको बताए। मलेसियाको गेन्टिङ हाइल्यान्ड नमुना प्रस्तुत गर्दै उनले नेपालका डाँडाकाँडामा ५० प्रिमियम पर्यटन गन्तव्य पहिचान गरी—
-
१००–५०० रोपनी क्षेत्रफल,
-
निश्चित डिजाइन र मापदण्ड,
-
पारदर्शी बिडिङ,
-
र ५० वर्षसम्मका योजना बनाएर निजी क्षेत्रलाई लगानी गर्न दिने
सुझाव दिए।
कञ्चनजंघादेखि धडगडीसम्म ५० स्थान समानान्तर विकास गर्न सके नेपालका पर्यटन आम्दानीमा ठूलो वृद्धि सम्भव रहेको उनको भनाइ छ।
लक्षित पर्यटक समूह र पहुँच सुधार महत्वपूर्ण
भारतका शहरहरू (गोरखपुर, बिहार, यूपी, दिल्ली) तथा चीन–तिब्बतका यात्रु मुख्य सम्भावित बजार भएको उनले बताए। त्यस्तै, बौद्ध–बहुल देश—मलेसिया, भियतनाम, थाइल्यान्ड, सिंगापुरका पर्यटकलाई लक्षित गर्दै हवाई तथा भौतिक पूर्वाधारमा सुधार आवश्यक रहेको उल्लेख गरे। “५ सय डलर खर्च गर्ने पर्यटक ल्याउनुपर्छ, १० डलर बोकेर बस्नेहरूबाट अर्थतन्त्र समृद्ध हुँदैन,” उनले भने।
राज्यको भूमिकाः अनिश्चितताले विकास रोकिएको
उनीका अनुसार देशमा तरलता र स्रोत प्रशस्त भए पनि मुख्य समस्या राजनीतिक अनिश्चितता हो। सरकारको अवधि र स्थिरतामा सुनिश्चितता नभएकाले दीर्घकालीन परियोजना अघि नबढ्ने तथा परिणाम देखिन नसक्ने उनको विश्लेषण छ।
