आज अन्तर्राष्ट्रिय बैंक दिवस र एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस को सन्दर्भमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर विविध कार्यक्रम आयोजना भइरहेका छन्। अन्तर्राष्ट्रिय बैंक दिवसले बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास, जलवायु अनुकूल वित्त, र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्दछ।
यसै सन्दर्भमा, विश्व बैंकले बुधबार ‘अन्तर्राष्ट्रिय ऋण रिर्पोट २०२५’ सार्वजनिक गर्दै विकासशील देशहरूको वित्तीय जोखिमप्रति गम्भीर चेतावनी दिएको छ।
विकासशील देशमा ५० वर्ष यताकै उच्च ऋण संकट
विश्व बैंकको रिपोर्टअनुसार, सन् २०२२ देखि २०२४ बीचमा विकासशील देशहरूको ऋण तिर्नुपर्ने दायित्व र नयाँ ऋण पाउन सक्ने क्षमता बीचको अन्तर ५० वर्षकै सर्वाधिक अर्थात् ७४१ अर्ब डलर पुगेको छ। यो ठूलो खाडलले विकासशील राष्ट्रहरू वित्तीय जोखिमको चपेटामा परेको स्पष्ट सङ्केत गर्दछ।
-
सर्वाधिक ब्याज भुक्तानी: २०२४ मा यी देशहरूले ब्याज भुक्तानीमा मात्रै ४१५.४ अर्ब डलर खर्च गरेका छन्, जुन इतिहासमै सबैभन्दा बढी हो।
-
कुल बाह्य ऋण: निम्न र मध्यम आय भएका देशहरूको कुल बाह्य ऋण बढेर ८.९ ट्रिलियन डलर पुगेको छ।
-
आईडीए ऋणीको अवस्था: विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) मार्फत ऋण लिन पाउने ७८ देशको बाह्य ऋण १.२ ट्रिलियन डलर छ। यस सूचीमा नेपाल पनि समावेश छ।
नेपालको सार्वजनिक ऋण ४४.६९%
नेपालको सन्दर्भमा, सरकारको गत कात्तिकसम्म तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। यो देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४४.६९ प्रतिशत हो। विश्व बैंकको यो रिपोर्ट नेपाल लगायत धेरै निम्न र मध्यम आय भएका देशहरूका लागि खतराको घण्टी हो।
विश्व बैंकको सुझाव र समाधान
विश्व बैंकका प्रमुख अर्थशास्त्री इन्दरमित गिल ले विश्वव्यापी वित्तीय अवस्थामा केही सुधार देखिए पनि विकासशील देशहरूले आफूलाई सुरक्षित नठान्न चेतावनी दिएका छन्। उनले बाह्य ऋणको बोझ नथपी, अहिलेको तुलनात्मक रूपमा शान्त वित्तीय अवस्थाको उपयोग गरेर देशहरूले आफ्नो राजस्व र खर्च व्यवस्थापन मजबुत बनाउनुपर्ने र अर्थतन्त्रको संरचनामा सुधार गर्नुपर्ने सुझाव दिएका छन्।
यसो नगरिएमा ऋणको सावाँ-ब्याज भुक्तानी, घरेलु बैंकिङ्गमा दबाव र सामाजिक विकास खर्च कटौती गर्नुपर्ने समस्याले समृद्धि र विकासको मार्ग कठिन बनाउने रिपोर्टमा उल्लेख छ।
अर्को दिवसको सन्दर्भ
यसै वर्षदेखि मनाउन थालिएको एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस ले विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको चार्टर विपरीत नभएको एकपक्षीय दबाबका नकारात्मक प्रभावबारे चेतना फैलाउने र मुलुकहरूबीच सहकार्य तथा एकतालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।
