नेपालको जोड: LDC बाट विकासशील राष्ट्र बन्दा वित्तीय र प्रविधि सहयोग आवश्यक

  • Clock icon
    २०८२ मंसिर १९, शुक्रबार

नेपालले अल्पविकसित राष्ट्रहरू (एलडीसी) बाट विकासशील देशका रूपमा हुने रूपान्तरणलाई समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा बनाउनका लागि अन्तर्राष्ट्रिय समुदायबाट वित्तीय एवं एकीकृत सहयोग अपरिहार्य रहेकोमा जोड दिएको छ।

राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय (ओएचआरएलएलएस) र कतार कोषले दोहामा आयोजना गरेको ‘अल्पविकसित देशहरूको दिगो विकासका लागि विश्वव्यापी साझेदारी निर्माण’ सम्बन्धी बैठकअन्तर्गत बिहीबार भएको उच्चस्तरीय छलफलमा नेपालले एलडीसी समूहको अध्यक्षको रूपमा उक्त विषय उठाएको हो।

परराष्ट्रसचिव अमृतबहादुर राईले छलफलका क्रममा अल्पविकसित राष्ट्रहरूलाई वित्तीय र एकीकृत सहयोगको आवश्यकतामा विशेष जोड दिएका थिए।

प्रविधि बैंकसँग सहयोगको अपेक्षा

परराष्ट्र मन्त्रालयका अनुसार बैठककै क्रममा परराष्ट्रसचिव राईले संयुक्त राष्ट्रसङ्घको प्रविधि बैंकका प्रबन्ध निर्देशक देवदत्त महाराजसँग भेटवार्ता गरेका थिए। भेटमा राईले अल्पविकसित मुलुकबाट विकासशील देशमा रूपान्तरण हुने नेपालको यात्रालाई सहज बनाउनका लागि प्रविधि बैंकको सहयोगको अपेक्षा नेपालले गरेको बताएका थिए। यस अवसरमा उनीहरूबीच प्रविधि बैंकको भूमिका र सहकार्यका अवसरहरूबारे पनि छलफल भएको थियो।

  • Clock icon
    २०८२ मंसिर १९, शुक्रबार