गत वर्षको असोज र यस वर्षको बाढीपहिरोले क्षति पुर्याएको महत्वपूर्ण वीपी राजमार्गको पुनर्निर्माण कार्यले तीव्रता पाएको छ। रोशी नदीमा आएको बाढीका कारण काभ्रेपलाञ्चोक-सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्डमा ठूलो क्षति पुगेको थियो।
क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरी पुनर्निर्माण अगाडि बढाइएको छ। तीमध्ये ४ खण्ड (करिब २५ किलोमिटर सडक) को पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम द्रुत गतिमा भइरहेको छ। यी खण्डहरूको पुनर्निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
बाँकी ३ किमि जाइकाको सहयोगमा
बाँकी एक खण्डमा पर्ने ३ किलोमिटर सडक भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयातामा पुनर्निर्माण गरिनेछ। यस खण्डको डिजाइन स्वीकृत भइसकेको र हाल ठेक्का प्रक्रियामा रहेको बताइएको छ।
मन्त्री घिसिङद्वारा अनुगमन र निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार (मंसिर १८ गते) क्षतिग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरी पुनर्निर्माणको अवस्थाबारे जानकारी लिएका छन्।
सडक विभागका महानिर्देशक विजय जैशी, संघीय सडक सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख सुभराज न्यौपानेलगायतको टोलीसहित अनुगमनमा पुगेका मन्त्री घिसिङले विभिन्न खण्डमा भइरहेको काम, निर्माण सम्पन्न हुने तालिका र जाइकाले गर्ने खण्डको तयारी अवस्थालगायतका विषयमा छलफल गरे।
वर्षाअघि डाइभर्सनलाई स्थायी बनाउन जोड
मन्त्री घिसिङले हाल अस्थायी रूपमा सवारी साधनका लागि खोला किनारबाट बनाइएको डाइभर्सन वर्षायाम सुरु भएसँगै काम नगर्ने उल्लेख गर्दै यसतर्फ विशेष ध्यान दिन आग्रह गरे। उनले वर्षायाम सुरु हुनुभन्दा अगाडि नै आवश्यक स्थायी संरचनाको निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।
उनले जलशक्ति (जनशक्ति) थप र विद्युत्को व्यवस्था गरी राति पनि काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
राजमार्गको स्तरवृद्धि
संघीय राजधानीलाई पूर्वी क्षेत्रसँग जोड्ने यो महत्वपूर्ण बीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको थियो। १६० किलोमिटर लम्बाइ रहेको यस राजमार्गको ३०.५ किलोमिटर खण्ड गत वर्षको बाढीले क्षतिग्रस्त भएको थियो।
पुनर्निर्माणका क्रममा हाल भइरहेको इन्टरमिडियट लेनलाई क्षतिग्रस्त राजमार्गको खण्डमा भने दुई लेनको बनाई पुनर्निर्माण गरिँदैछ, जसले यातायात आवागमनलाई अझ सहज र सुरक्षित बनाउने अपेक्षा छ।
