पाँच महिनादेखि अवरुद्ध रहेको रसुवागढी नाका पुनः सञ्चालनको तयारी गत महिना तीव्र बनेको थियो। गत असार २४ मा तिब्बतबाट आएको ल्हेन्दे खोला बाढीले अन्तर्राष्ट्रियस्तरको पक्की पुल बगाएपछि बन्द भएको नाका नयाँ वर्ष २०२६ तिर मात्र सञ्चालनमा आउने संकेत देखिएको थियो।
पुल बगेपछि चीन सरकारले साउनदेखि नै नयाँ बेलिब्रिज निर्माण सुरु गरेको थियो। तर, विकट भूगोल र अपेक्षा गरेभन्दा कठिन मौसमका कारण निर्माणमा ढिलाइ भएको थियो। तीनवटा ‘जोमक्रेन’ तथा आवश्यक जनशक्ति परिचालन गरेर चिनियाँ प्राविधिक टोलीले दिनरात काम गरेको थियो।
गोसाइँकुण्ड गाउँपालिका–२ रसुवागढीका अध्यक्ष कामीछिरिङ तामाङका अनुसार उपकरणको व्यवस्थापन र चित्ता बुज्नेगतिमा अघि बढेको निर्माणका आधारमा नयाँ वर्ष सुरु हुनुभन्दा अगाडि पुल सञ्चालनमा आउँने अनुमान गरिएको थियो। दैनिक ३०–३५ जना चिनियाँ कामदारले अत्याधुनिक उपकरण प्रयोग गर्दै बेलिब्रिज निर्माणलाई प्राथमिकता दिएर काम अघि बढाएका थिए।
यसअघि नै पुल निर्माण भइसक्ने लक्ष्य रहे पनि लगातार वर्षा, खोला–नदीमा बढेको बहाव, बिछ्याइएका ह्युमपाइप पटक–पटक बग्नु, र जडान गरिएका फलामका पत्ता अचानक लच्किनुले काममा थप ढिलाइ ल्याएको चिनियाँ प्राविधिकहरूले बताएका थिए। त्यस कारण केही संरचना पुनःजडान गर्नुपर्ने अवस्थाले समयसिमा प्रभावित पारेको थियो।
गत असारको बाढीले मितेरी पुल बगेपछि आयात–निर्यात पूर्ण रूपमा ठप्प हुँदा पाँच महिनामा रु. १८ अर्ब बराबरको राजस्व गुमेको रसुवा भन्सार कार्यालयले जनाएको थियो। प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार असार अन्तिम सातादेखि नाका बन्द भएपछि चालू आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको थियो। यस वर्ष रसुवा नाकाबाट रु. ४० अर्ब १६ करोड राजस्व संकलनको लक्ष्य राखिएको थियो।
भट्टराईका अनुसार बेलिब्रिज निर्माण सम्पन्न नभएसम्म नियमित आयात–निर्यात सम्भव हुने अवस्था थिएन। चिनियाँ पक्षले डिसेम्बर पहिलो सातामा पुलको प्राविधिक परीक्षण गरिने अनौपचारिक जानकारी दिएको थियो। ४९ मेट्रिक टन क्षमता रहेको सो बेलिब्रिज सञ्चालनमा आएपछि पुनः व्यापार सुचारु हुने विश्वास व्यक्त गरिएको थियो।
गत आर्थिक वर्ष २०८१/८२ मा रसुवा नाकाबाट ८८ अर्बको आयात र तीन अर्बबराबरको निर्यात भएको थियो। चीनबाट नेपालमा लत्ताकपडा, जुत्ता, इलेक्ट्रोनिक्स, फलफूल, विद्युतीय सवारीसाधन, पार्टपुर्जा लगायतका सामान आयात हुँदै आएको थियो भने नेपालबाट अलैंची, अदुवा, चिया, जडीबुटी, कफी, हस्तकला, छालाका जुत्ता, गलैँचा, च्याङ्ग्रा तथा पास्मिना लगायतका वस्तु निर्यात हुने गरेका थिए।
बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेसँगै व्यापारिक गतिविधि पुनर्जीवनतर्फ अघि बढेको स्थानीय र सुरक्षाकर्मीको धारणा रहेको थियो।
