लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल ज्ञवालीले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा भए पनि कसैले पनि हात झिकेको घोषणा नगरेको स्पष्ट पारेका थिए। आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को साधारण सभामा बोल्दै उनले नेपालप्रति लगानीकर्ताहरूको विश्वास अझै उच्च रहेको टिप्पणी गरेका थिए।
सीईओ ज्ञवालीका अनुसार १७ सय अर्ब बराबरका परियोजना बोर्डको पाइपलाइनमा रहेका थिए। केही लगानीकर्ताहरूले समयसापेक्ष मूल्यांकन गरिरहे पनि धेरैजसो लगानीकर्ताहरू नेपालमा लगानीका लागि उत्साहित रहेको उनले बताएका थिए। उनका अनुसार, “नेपालमा लगानी वातावरण सकारात्मक बन्दै गएको देखिएपछि लगानीकर्ताहरू तीव्र गतिमा अघि बढ्न तयार भएका छन्।”
ज्ञवालीले पछिल्ला वर्षहरूमा गेम–चेन्जिङ परियोजनाहरू अन्तिम चरणमा पुगिरहेका उल्लेख गर्दै लगानी बोर्डले नीति तथा संरचनागत सुधारलाई प्राथमिकतामा राखेको जानकारी दिएका थिए। उनका अनुसार, बोर्डमा विज्ञ सदस्यहरूलाई समावेश गर्ने तयारी समेत अघि बढाइएको थियो, जसले लगानी मूल्यांकन र प्राविधिक निर्णय प्रक्रियालाई अझ सुदृढ बनाउनेछ।
सीईओ ज्ञवालीले ‘जेनजी आन्दोलन’ पछाडि लगानीकर्ताहरूको नेपालप्रतिको चासो बढेको टिप्पणी गर्दै लगानीकर्ताहरूलाई ढुक्क हुने वातावरण बनाउनु अत्यावश्यक रहेको बताए। “लगानीकर्ताहरू ढुक्क भएनन् भने लगानीमा कन्फिडेन्स आउँदैन,” उनले जोड दिएका थिए।
नेपालको लगानी वातावरण सुधारका लागि सरकार, निजी क्षेत्र र लगानी बोर्डबीच निरन्तर समन्वय भइरहेको उनले जानकारी दिए। अर्थमन्त्री तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँगका छलफलपछि “अर्थतन्त्र उठाउन विकल्प छैन, हामीले उठ्नै पर्छ” भन्ने साझा निष्कर्ष निकालिएको उनले स्मरण गरेका थिए।
उनका अनुसार, नेपालमा आउने लगानीकर्ताहरूले राखेका सर्तहरू भविष्यमा परिवर्तन नहुने कानुनी सुनिश्चितता दिनेगरी नयाँ ढाँचा तयार भइरहेको थियो। लगानीकर्ताले लगानी गर्नेबेला सहमति गरिएका ‘टर्म अफ कन्डिसन’ मा स्थायित्व रहने व्यवस्था गर्ने तयारी भएको बताए।
निजी क्षेत्रले उठाएका कानुनी अस्पष्टता, प्राविधिक अड्चन, प्रक्रियागत अप्ठ्यारा पक्षहरू समाधान गर्न बोर्डले विशेष पहल गरिरहेको उनले उल्लेख गरे। यस्तै, कुन परियोजना सरकारले गर्ने र कुन निजी क्षेत्रले गर्ने भन्ने स्पष्टता ल्याउनका लागि समिति बनाएर काम अघि बढाइएको पनि उनले बताए।
प्रतिस्पर्धाबाट बाहिर गएर परियोजना नदिन बोर्ड दृढ रहेको बताउँदै सीईओ ज्ञवालीले पारदर्शिता र प्रतिस्पर्धामूलक प्रक्रियालाई नै आधार बनाउने बोर्डको नीति पुनः दोहोर्याएका थिए।
